ट्युनिसियाबाट हजारौं पर्यटक बाहिरिंदै

  • 27 जुन 2015
तस्वीर कपीराइट AP
Image caption गत मार्च महिना यता ट्युनिसियामा पर्यटकहरुप्रति लक्षित यो दोस्रो आक्रमण हो

शुक्रबार उत्तर अफ्रिकी देश ट्युनिसियाको एक बिदा मनाउने मनाउने रिजोर्टमा भएको हमलापश्चात हजारौं पर्यटकहरु त्यहाँबाट फर्कीरहेका छन्।

अधिकांश युरोपेली सहित ३८ जनाको ज्यान जाने गरी भएको उक्त घटनापछि ट्युनिसियाली सरकारले पर्यटकीय स्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको बताएको छ।

जिम्मेवारी

ट्युनिसियाका प्रधानमन्त्री हबीब अशिदले सुरक्षा व्यवस्था कडा पारिने घोषणा गरेका छन्।

उनले पुरातात्विक महत्वका स्थलहरु एवं रिजोर्टहरुमा सुरक्षाकर्मी खटाइने तथा हिंसाको पक्षमा भावना फैलाउने भनिएका करीब ८० वटा मस्जीदलाई एक हप्ताभित्र बन्द गरिने पनि बताए।

शुक्रबारको आक्रमणका लागि इस्लामिक स्टेट विद्रोहीले जिम्मेवारी लिएको छ।

समुद्र तटमा अवस्थित सुस भन्ने ठाउँ नजिकै पर्यटकहरुमाथि गोली चलाउने बन्दूकधारीलाई पछि गोली हानी मारिएको थियो।

अधिकारीहरुका अनुसार मारिएकाहरुमध्ये अधिकांश ब्रिटिश नागरिक थिए।

मृतकहरुमध्ये आठजना ब्रिटिश, एक बेल्जियन, एक जर्मन र एक आइरिश नागरिक रहेको ठानिएको छ।

मारिनेहरुमध्ये ट्युनिशियाली र फ्रेञ्चपनि रहेको बताइएको छ।

सो हमलामा ३६ जना घाइते भएका थिए।

दोस्रो हमला

गत मार्च यता ट्युनिसियामा पर्यटकहरुलाई लक्षित गरी गरिएको यो दोस्रो ठूलो आक्रमण हो।

गत मार्च महिनामा बार्दो म्युजियममा गरिएको हमलामा अधिकांश विदेशी सहित २२ जना मारिएका थिए।

शुक्रबारको हमलामा प्रभावित भएका होटलहरुमा रहेका थुप्रै पर्यटकहरुले ट्युनिसिया छाडेका वा छाड्नका लागि विशेष व्यवस्था गरिएका विमानहरुको पर्खाइमा रहेका छन्।

तर सम्वाददाताहरु भन्छन्, केही पर्यटकहरु भने आक्रमणले आफ्नो विदाको कार्यक्रम नविथोलिने भन्दै होटलको पुलमा फर्किएको देखिन्थे।

प्रश्न

ट्युनिसियाका प्रधानमन्त्री अशीदले संविधानभन्दा बाहिर गएर कार्य गर्ने पार्टी तथा समूह विरुद्ध कारवाही गर्ने बताएका छन्।

देश र सरकारमाथि खतरा रहेको भन्दै उनले सबैको एकता विना यो युद्ध जित्न नसकिने पनि बताए।

तर कतिपय ट्युनिसियालीहरुले चाहिं मार्चमा हमला भइसकेपछि पनि किन पर्याप्त सुरक्षा व्यवस्था गर्न नसकिएको भनी प्रश्न उठाएका छन्।

सुरक्षा अधिकारीहरुले भनेका छन्, हमलाकारीले पौडी खेलेको भान पार्दै किनारमा रहेका पर्यटकहरु नजिक पुगेपछि गोली चलाएका थिए।

लगत्तै ती हमलाकारी नजिकैको होटल इम्पेरियल मरहाबा छिरे र गोली चलाउन जारी राखे।

इस्लामिक स्टेट समूहले आफ्ना समर्थकहरुलाई मुसलमानहरुको पवित्र रमजान महिनामा आक्रमण तेज पार्न आव्हान गरेको थियो।