ग्रीक संसदः जनमत संग्रह घोषणा अनुमोदन

  • 28 जुन 2015
तस्वीर कपीराइट AFP
Image caption जुन २४ तारिख ब्रसेल्समा युरोजोनका नेता र ग्रीस सरकारबीच भएको वार्ता विना निष्कर्ष टुङ्गिएको थियो

युरो मुद्रा प्रचलनमा रहेको युरोजोनसँग गरिने ऋण सम्झौताबारेको प्रधानमन्त्रीबाट प्रस्तावित जनमत संग्रहको घोषणालाई ग्रीक संसदले आइतबार अनुमोदन गरेको छ।

प्रधानमन्त्री एलेक्सिस सीप्रासले शुक्रबार अप्रत्याशित रुपमा जुलाइ ५ तारिखमा नयाँ सम्झौता गर्ने विषयमाथि जनमत संग्रह गराइने घोषणा गरेका थिए।

यसअघि ऋण तिर्नुपर्ने समयसीमा बढाउन ग्रीसले गरेको आग्रह युरोजोनका अर्थमन्त्रीहरुले अस्वीकार गरिदिएका थिए।

ग्रीसले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई मंगलबारसम्ममा १ अर्ब ६० करोड युरो ऋण तिर्नुपर्नेछ।#

भङ्ग

युरो समूहले एउटा विज्ञप्ति जारी गरी नयाँ सम्झौताबारे ग्रीसले “एकतर्फी” रुपमा वार्ता भङ्ग गरेको जनाएको छ।

नयाँ सहायता नपाए ग्रीस युरोजोनबाट बाहिरिने खतरा छ र उसको अर्थतन्त्र धराशायी हुन सक्ने बताइन्छ।

ग्रीक अर्थमन्त्री यानिस भारुफाकिसले ग्रीसले सम्झौताका निम्ति अझै प्रयास गर्ने र त्यसपछि उक्त सम्झौतामाथि जनमत संग्रह गराइने बताए।

उनले भने, “मंगलबार अन्तिम क्षणसम्म सहमतिमा पुग्नका निम्ति यो महत्वपूर्ण घडीमा ग्रीस संघर्षरत छ।”

तस्वीर कपीराइट EPA
Image caption प्रधानमन्त्री एलेक्सिस सीप्रासले शुक्रबार जनमत संग्रहको घोषणा गरेका थिए

जनमत संग्रहलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा ग्रीक संसदमा मतदान भएको थियो।

आपतकालीन

मतदानअघि सांसदहरुलाई संबोधन गर्दै प्रधानमन्त्री सीप्रासले ऋणदाताहरुले दिएको म्याद “जोडदार” रुपमा हुन्न भन्न ग्रीसका जनताहरुलाई आग्रह गरे।

युरो समूहका प्रमुख यरुन डाइ सब्लुमले ग्रीसको बैङ्किङ् प्रणालीलाई आपतकालीन सहायता उपलब्ध गराउने वा नगराउने कुरा युरोपेली केन्द्रीय ब्याङ्कमा निर्भर गर्ने बताए।

ग्रीसको केन्द्रीय ब्याङ्कले पैसा झिक्नमा प्रतिबन्ध लगाउन सक्ने आशंकामाझ पैसा झिक्नका लागि मानिसहरु ब्याङ्क अगाडि लामबद्ध छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुखले ऋण सम्झौतामाथि ग्रीसद्वारा घोषणा गरिएको जनमत संग्रह मंगलबारपछि अवैधानिक हुने बताएकी छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोषलाई ग्रीसले १ अर्ब ६० करोड युरो ऋण तिर्नुपर्ने समयसीमा मंगलबार राति सकिदैछ।