मस्यौदाविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी

  • 28 जुन 2015
Image caption संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनको चेतावनी दिए

मस्यौदा समितिले तयार पारेको संविधानको प्रारम्भिक एकीकृत मस्यौदाप्रति असन्तुष्ट रहेका दलहरुले त्यसविरुद्ध संविधानसभादेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रमुख चार दलले गरेको १६ बुँदे सहमतिविरुद्ध देखिएका खासगरी तराई केन्द्रित केही दलहरुले अदालतको “अपहेलना” गर्दै बनाउन लागिएको “अपूरो” संविधान निर्माण रोक्ने बताएका हुन्।

सोमबार संविधानसभामा पेश हुने भनिएको उक्त मस्यौदाका केही बुँदामा अझै सहमति हुन नसकेको बताइएको छ।

मस्यौदा समितिका सदस्यहरुले आइतबारसम्ममा विवाद टुङ्गिने बताएका छन्।

चेतावनी

तराई मधेश लोकतान्त्रिक पार्टीका सह-अध्यक्ष हृदयश त्रिपाठीले भने, “संविधान विपरीत र अदालतको अन्तरिम आदेशद्वारा रोकिएको मस्यौदालाई रोक्ने संसदीय संघर्ष हामीले गर्छौँ, त्यसका लागि संसद घेर्ने, चल्न नदिने, नारा लगाउने लगायतका काम हामीले गर्छौँ।”

त्यसका लागि साना दलका ५० भन्दा बढी सभासदहरु तयार रहेको उनले बताए।

असन्तुष्ट साना दलहरुले मस्यौदालाई “प्रतिगमनको दस्तावेज” र “वकपत्र” को संज्ञा दिएका छन्।

यसले जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलनको उपलब्धिलाई कमजोर बनाउन खोजेको उनीहरुको आरोप छ।

विरोध

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मस्यौदा संघीयता, पहिचान र समानुपातिक समावेशिताको विपक्षमा रहेको बताउँछन्।

उनले भने, “गलत प्रावधानको हामी विरोध गर्छौँ, त्यो विरोध भनेको सदनदेखि सडकसम्म विरोध हुन्छ, तथापि जबरजस्ती लाद्न खोजे हामी जनविद्रोहको बाटोबाट अगाडि बढ्छौँ।”

असन्तुष्ट दलहरु पछिल्लो समय मस्यौदा समितिका बैठकमा पनि सहभागी हुने गरेका छैनन्।

मस्यौदा समितिभित्रै पनि प्रमुख चार दलमाझ नै एकीकृत मस्यौदाका केही बुँदामा असहमति कायम छ।