'युरोजोनको प्रस्तावमा मतदान गर्न आह्वान'

  • 29 जुन 2015
तस्वीर कपीराइट Reuters
Image caption अध्यक्ष युंकरले जनमत संग्रह अघि सोझै ग्रीक जनतालाई सम्बोधन गरेका छन्

युरोपेली आयोगका अध्यक्ष जां क्लोड युंकरले एक भावपूर्ण भाषण गर्दै ग्रीसमा आइतबार हुन लागेको जनमत संग्रहमा युरोजोनले प्रस्तुत गरेको प्रस्तावको पक्षमा मतदान गर्न त्यहांका जनतालाई आह्वान गरेका छन्।

अध्यक्ष युंकरले ग्रीसको पक्षमा कुनै खाले सहमति हासिल गर्ने आफ्नो प्रयासको कदर नभएको भन्दै त्यसबाट आफूले व्यक्तिगत रुपमा केही धोका पाएको अनुभव गरेको पनि बताएका छन्।

केही भावुक त केही आक्रोश मिसिएको भाषणका क्रममा बोल्दै युंकरले ग्रीसको वित्तीय संकटबारेको वास्तविकताका सम्बन्धमा ग्रीक जनता स्पष्ट हुनुपर्नेमा जोड दिएका छन्।

उनले ग्रीकहरुलाई आगामी आइतबार हुने जनमत संग्रहमा हुन्छ भन्ने पक्षमा मतदान गर्न आग्रह पनि गरे।

संकेत

उनले भने, त्यसको अर्थ ग्रीस एकल युरोपेली मुद्रा युरो प्रचलनमा रहेको क्षेत्रीय समूहभित्रै रहन चाहेको भन्ने लाग्दछ।

तर यदि हुन्न भन्ने पक्षमा मतदान भएमा त्यो ग्रीसले युरोपलाई नै हुन्न भनेको हुनेछ।

बीबीसीका क्रिश मोरिस आफ्नो विश्लेषणमा भन्छन्, युरोपेली आयोगका अध्यक्षले यो भन्दा अघि कुनै पनि सरकार र सदस्य राष्ट्रपति यति विघ्न कडा, गैरकूटनीतिक र केही आक्रोशपूर्ण भाषाको प्रयोग गरेको थाहा छैन।

जां क्लोड युंकरले आफूलाई धोका भएको अनुभव गरेको र ग्रीसका प्रधानमन्त्रीले जनतालाई तलब र निवृत्तिभरण जस्ता कुराहरुमा हुने कटौतीका बारे झुटो बोलेको समेत संकेत गरेका छन्।

धोका

उनले भने, “मेरो सम्पूर्ण प्रयासहरु, आयोगले गरेको प्रयास र यो प्रकृयामा संलग्न अन्य संस्थाहरुको प्रयासलाई उचित कदर गरिएको छैन। त्यसैले मलाई आफूले धोका पाएको अनुभव भएको छ।“

मंगलबार बेलुकी ग्रीसको हालको ‌वित्तीय राहत सहायताको म्याद समाप्त हुनु अघि नै कुनै खाले सहमति हुने संकेत देखिएको छैन।

उनले ग्रीसलाई कुनै पनि हालतमा तलब कटौति गर्न, निवृत्तिभरण कटौति गर्न वा रोजगारी कटौति गर्न नभनिएको बताएका छन्।

बरु ग्रीसलाई सरकारी खर्चलाई नियन्त्रणमा राख्‍न र प्रशासनलाई अझ आधुनिक र पारदर्शी तुल्याउन भनिएको र आफ्ना ऋणहरु तिर्न थप समय दिइएको बताइएको छ।