संविधानको पहिलो मस्यौदा संविधानसभामा पेश

  • 30 जुन 2015
Image caption संविधानको पहिलो मस्यौदा पेश भएपछि‍ कतिपय साना दलहरुले असन्तुष्टी जनाउँदै मस्यौदा च्यातेका थिए

एकिकृत माओवादी सहित विभिन्न दलका फरक मत सहित भावी संविधानको पहिलो मस्यौदा मंगलबार संविधानसभामा प्रस्तुत गरिएको छ।

पहिलो मस्यौदा प्रस्तुत गर्दै संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले पार्टीको अडानबाट माथि उठेर दलहरुले निर्णय लिएपछि प्रारम्भिक खाका तयार गर्न सकिएको बताए।

उक्त मस्यौदामाथि बिहीबार बस्ने संविधानसभाको बैठकमा छलफल थाल्ने दलहरुले निर्णय गरेका छन्।

मस्यौदा पेश भएलगत्तै बैठककक्षमा नाराबाजी गरेका तराईकेन्द्रीत सहित केही साना दलहरुले संविधानसभा भवनमा पहिलो मस्यौदा च्यातेका थिए।

मस्यौदा

संविधान मस्यौदा समितिले तयार बुझाएको झन्डै १ सय ३० पृष्ठको प्रारम्भिक मस्यौदामा २ सय ९७ वटा धारा र ३७ भाग रहेको नेताहरुले बताएका छन्।

प्रमुख दलबीच भएको १६ बुँदे सहमतिका आधारमा तयार गरिएको मस्यौदामा विगतमा सहमति भएका कतिपय विषय नराखिएको भन्दै एकीकृत माओवादीले असन्तुष्टी व्यक्त गरेको थियो।

एकीकृत माओवादीका नेताहरुको फरक मत सहित खाका तयार पारिएको भन्दै मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले पार्टीगत दायरा भन्दा माथि उठेर निर्णय लिइएको बताए।

उनले भने, “कतिपय अवस्थामा एउटा पाना पढ्दा खुसी लाग्छ, अर्को पाना पढ्दा दिक्क लाग्छ, आफ्नै पार्टीको मात्र दृष्टिकोण खोज्यो भने पाइँदैन, यो संविधानमा के छ भनेर थाहा पाउन यसलाई समग्रमा पढ्नुपर्छ, राष्ट्रप्रति जिम्मेवार भएर आआफ्नो पार्टीको निश्चित दायरा भन्दा माथि उठेर भनेर हामीले गरेको यो प्रारम्भिक कार्य हो।”

अघिल्लो महिना १६ बुँदे सहमतिमा उल्लेख भए बमोजिम पहिलो मस्यौदामा, संघीय आयोगले सिमांकनबारे टुंगो गर्ने गरी ८ प्रदेशमा जाने र संसदको बहुमतबाट निर्वाचित प्रधानमन्त्रीमा कार्यकारी अधिकार रहने संसदीय शासन प्रणाली,प्रस्ताव गरिएको छ।

प्रस्ताव

२०४६ सालको बहुदलीय व्यवस्थापछि देखिएको सरकार बनाउने र ढाल्ने प्रवृति नियन्त्रण गर्न भन्दै प्रधानमन्त्री नियुक्त भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाउने र त्यस्तो प्रस्ताव राख्दा वैकल्पिक प्रधानमन्त्रीको नाम समेत साथै पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

सर्वोच्च अदालतले सिमांकन र नामाकंन सहित संविधान जारी गर्न अन्तरिम आदेश दिएपनि संविधान सभाको क्षेत्राधिकारमा हस्तक्षेप गरिएको भन्दै आफ्नो निर्णय पुनर्विचार नगर्ने प्रमुख दलहरुले निर्णय गरेका थिए।

संघीयतालाई उधारो राख्न खोजिएको भन्दै संविधानसभा भित्र र बाहिर रहेका कतिपय दलहरुले प्रारम्भिक मस्यौदालाई बहिस्कार गरेका छन्।

सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले तराइका जिल्लामा बुधवारबाट मस्यौदाको विरोधमा संघर्ष चर्काउने बताए।

उपलब्धि

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्ले पछिल्ला असन्तुष्टीहरु आगामी दिनमा सम्बोधन गर्न सकिने भन्दै पहिलो मस्यौदा तयार हुनु ऐतिहासिक उपलब्धि भएको धारणा राखेका छन्।

उनले भने, “संविधान निर्माणको प्रकृया अन्तिम रुपमा टुंगिदासम्म अझै कतिपय कुरा समेट्न सकिने अवस्था अझै छदैँछ, संविधान जारी भइसके पछि पनि त्यै संविधानको आधारमा उभिएर बाँकी हाम्रा चहाना र भावना समेट्दै अघि बढ्न सकिन्छ।”

संविधानसभा सचिवालयले पहिलो मस्यौदामा तत्कालै जनताको राय सुझाव लिने प्रकृया थाल्न मंगलबार साँझ नै त्यसलाई आफ्नो वेबसाइटमा राख्ने व्यवस्था मिलाउने बताएको छ।

छोटो प्रकृयाबाट जनताको राय सुझाव संकलन गरी प्रत्येक दफा दुइ तिहाईबाट पारित गरि असार मसान्त भित्र संविधान जारी गरिसक्ने प्रमुख दलहरुले सहमति गरेका छन्।