छलफलमा सहभागी हुनेः असन्तुष्ट दल

  • 1 जुलाई 2015
Image caption आफ्ना मागको सुनुवाइ नभए विद्रोह गर्ने चेतावनी असन्तुष्ट समूहहरुले दिएका छन्

संविधानसभामा पहिलो मस्यौदा प्रस्तुत हुने बित्तिकै च्यातेका असन्तुष्ट साना दलहरुले संविधान निर्माण प्रक्रियाबाट आफूहरु नबाहिरिएको बताएका छन्।

विरोधमा उत्रिएका दलहरुले मस्यौदामाथि हुने छलफलमा भाग लिने तर आफ्ना कुराको सुनुवाई नभए संविधानसभा छोड्ने चेतावनी दिएका छन्।

मंगलबार संविधानसभामा प्रस्तुत गरिएको प्रारम्भिक खाकाले पहिचानसहितको संघीयताको आफ्नो माग सुनुवाइ नगरेको उनीहरुको भनाई छ।

तराई केन्द्रित र केही साना दलहरुले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका बीचमा संविधानका बिषयवस्तुबारे अघिल्लो महिना भएको १६ बुँदे सहमतिप्रति असन्तुष्टि राख्दै आएका छन्।

संघर्ष 'चर्काउने'

ती दलले आफ्ना मागको सुनावाई नभए संघर्ष चर्काउने चेतावनी दिएका छन्।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भन्छन्, "मस्यौदा च्यातेर हामीले सांकेतिक विरोध गरेका हौँ, सहमति गरेर अगाडि बढ्ने भए सहयोग गर्न तयार छौं तर पेलेर लाने मानसिकताले अगाडि बढ्यो भने प्रतिरोध गर्छौँ।"

संविधानसभामा मस्यौदामाथि बिहिबार देखि हुने छलफलहरुमा सहभागी हुने उनले बताए।

प्रक्रिया

तर मस्यौदा परिमार्जन गर्ने क्रममा आफ्ना माग सम्बोधन नगरी संविधान जारी गर्न खोजिए संविधानसभा त्याग्ने चेतावनी उनीहरुको छ।

सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्ण भन्छन्, "प्रक्रियाबाट पनि सचिएन भने हामीसँग विकल्प हुँदैन, जनतामा जानुपर्ने हुन्छ, जनताकहाँ जाँदा हामी संविधानसभा छोडेर जान्छौँ।"

मस्यौदामा संघीयतालाई उधारो राखिएको बताउँदै आएका असन्तुष्ट दलहरुले सीमांकन र नामाकंनसहितको प्रादेशिक संरचना संविधानमा नै उल्लेख गर्नुपर्ने माग गर्दै आएका छन्।