कोदारी क्षेत्रमा पहिरो पन्छाउन कठिनाइ

  • 2 जुलाई 2015
कोदारी राजमार्ग तस्वीर कपीराइट
Image caption वैशाखको भूकम्पका बेला गएका पहिरो पन्छाउन नसक्दा नेपाल र चीनबीचको चल्तिको नाका बन्द हुन पुगेको छ

कोदारी राजमार्गको क्षतिग्रस्त बाह्रबिसे-तातोपानी क्षेत्रमा पहिरो जाने क्रम नरोकिएपछि वैशाखमा गएका विनाशकारी भूकम्प लगत्तै तिब्बतको खासा नाका वरपर रोकिएका सयौं कन्टेनरहरु नेपाल भित्र्याउनेबारेको अनिश्चितता लम्बिएको छ।

दिउसो पहिरोहरु पन्छ्याउने प्रयास जारी छ तर राति पुनः पहिरो आइदिंदा चुनौती थपिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले बताए।

चाकु क्षेत्रमा पछिल्लोपटक मंगलबार राती फेरि ठूलो पहिरो गएको बताइएको छ।

पहिरोका कारण कन्टेनरहरु ल्याउन नसकिंदा व्यापारीहरुले ठूलो घाटा व्यहोर्नु परेको नेपाल हिमालय सीमापार वाणिज्य संघले बताएको छ।

प्रयासहरु

दुई महिनादेखि खासा नाका वरपर रोकिएका ४ सयभन्दा बढी कन्टेनरहरु नेपाल ल्याउनका लागि बाटो खुलाउन दुई साता अघिदेखि प्रयास जारी राखिएको अधिकारीहरु बताउँछन्।

तर वैशाखका शक्तिशाली भूकम्पका कारण तातोपानी-बाह्रबिसे खण्डमा करिब १० ठाउँमा पहिरो गएका कारण सो सडक खण्ड अवरुद्ध रहेको छ।

अहिले मनसुने झरी शुरु भएकाले पहिरो पन्छ्याउने कार्य झनै चुनौतीपूर्ण बनेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बलबद्र गिरीले बीबीसीलाई बताए।

“बाटो कहिले खोल्न सक्छौं भन्न सक्ने स्थिति छैन। बाह्रबिसे चाकु क्षेत्रमा दिनभर खोल्छौं राति फेरि पहिरो जान्छ।”

“सुख्खा भयो भने बाटो खोल्ने काम छिट्टै हुन्छ। तर पानी परिरहने अवस्था रह्यो भने ढिलो हुन्छ।”

नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष अशोककुमार श्रेष्ठका अनुसार तातोपानी-खासा नाका वरपर रोकिएका कन्टेनरहरुमध्ये सामान बोकेका कन्टेनर ४ सय वटा छन्।

ती कन्टेनरहरुमा तयारी लत्ताकपडा र जुत्ता लगायतका सामानहरु छन्।

मर्का

करोडौं मूल्य पर्ने सामान बोकेका कन्टेनरहरु नआउँदा सम्बन्धित व्यापारीका साथै कन्टेनर व्यवसायीहरु समेत मर्कामा परेको श्रेष्ठले बताए।

“कन्टेनरहरु ल्याउन नसक्दा अहिले दशौं अरब रुपैंयाँको लगानी जोखिममा छ।”

“मानिसहरुले करोडौं रुपैंयाँ ऋण लिएका छन्। कन्टेनरहरु आउन ढिला भयो भने व्यवसायीहरु बाटो मै पुग्न सक्ने अवस्था छ।”

तिब्बत र चीन जोड्ने नेपालको सबैभन्दा चल्तीको सडकमार्ग अवरुद्ध भएपछि चीनबाट नयाँ सामानहरु भने घुमाउरो समुद्री मार्गबाट भारतको कोलकाता बन्दरगाह हुँदै ल्याउन थालिएको व्यापारीहरु बताउँछन्।

यस्तो परिस्थितिमा खासा नाका वरपर रोकिएका सामानहरु कोलकाता हुँदै नेपाल भित्र्याउन निकै असहज र महंगो हुने व्यवसायीहरुको भनाई छ।