हमला गर्ने सञ्जाल पत्ता लाग्यो: ट्युनिशिया

  • 2 जुलाई 2015
तस्वीर कपीराइट
Image caption उक्त आक्रमणमा परि ज्यान गुमाएका विदेशी पर्यटकको शव फिर्ता ल्याउने क्रम जारी छ

हालै ३८ जना विदेशी पर्यटकहरुको ज्यान जाने गरी ट्युनिशियाको समुद्री तटस्थित रिजोर्टमा हमला गर्ने सञ्जाल पत्ता लागेको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

सरकारका एक मन्त्रीले गत शुक्रबारको हमलामा प्रत्यक्ष संलग्न भएको आरोपमा आठ जना व्यक्ति पक्राउ परेको बताएका छन्।

इस्लामिक स्टेट विद्रोही समूहले सो घटनाको जिम्मा लिएको थियो।

ट्युनीशियाको सुस स्थित रिजोर्टमा गरिएको हमलामा सामेल ठानिएका अन्य दुई व्यक्तिलाई अझै सुरक्षा फौजले खोजिरहेका छन्।

त्रास

सो हमलामा एक बन्दूकधारीले जथाभावी गोली हानी ३८ जनालाई मारेका थिए।

जसमध्ये ३० जना ब्रिटिश पर्यटक रहेको लन्डनमा अधिकारीहरुले पुष्टी गरेका छन्।

ट्युनिशियास्थित बीबीसी सम्वाददाता भन्छन् हमलाका पछाडी संगठित सञ्जाल रहेको भन्ने विषयले आइन्दा थप आक्रमणहरु हुने हुन् कि भन्ने त्रास बढाएको छ।

आक्रमणले विदेशी मुद्रा आर्जन गर्ने ट्युनीशियाको सबभन्दा ठूलो स्रोत रहेको पर्यटन उद्योग ध्वस्त हुने डर त्यहाँको सरकारलाई छ।

हमला

गएको मार्च महिनामा पनि प्रख्यात बार्डो म्युजियममा दुई बन्दूकधारीले गोली चलाउँदा २२ जना मारिएका थिए।

यी आक्रमणहरु बारे बोल्दै ट्युनीशियानका संसदीय मामिला मन्त्रीले यो समूहलाई एउटै उद्देश्यका निम्ति लिबियामा प्रशिक्षित गरिएको र ती मध्ये दुईजनाले बार्दोमा र एकजनाले सुसमा हमला गरेको बताए।

लिबियामा आइएस विद्रोहीको उल्लेख्य मात्रामा उपस्थिति छ। त्यहाँका महत्वपूर्ण डेर्ना र सिर्टे शहर उसको नियन्त्रणमा रहेको ठानिन्छ।