ट्यूनिशिया र ब्रिटेनमा श्रद्धाञ्जली समारोह

  • 3 जुलाई 2015
Image caption गत हप्ताको हमलामा मारिने मध्ये ३० जना ब्रिटिश नागरिक थिए

एक हप्ताअघि इस्लामिस्ट बन्दुकधारीद्वारा मारिएका ३८ जना पर्यटकहरुको सम्झना गर्दै ब्रिटेन र ट्युनिशियामा ‌विभिन्न स्मृति समारोहहरु भएका छन्।

उक्त हमला भएको समय पारेर एक मिनेट मौन धारण पनि गरिएको थियो।

ट्यूनिशियामा गत हप्ता मारिएकाहरुको सम्झना गर्दै व्यक्त गरिएको मौन श्रद्धाञ्जली अपर्ण समारोहहरुमा, मृतकका परिवारजनका साथै ब्रिटेनकी महारानी र प्रधानमन्त्री डेभिड क्यामरन समेत सहभागी थिए।

श्रद्धाञ्जली कार्यक्रम ट्यूनिशियाको पर्यटकहरुमाझ लोकप्रिय रिजोर्ट शहर सूसको समुद्री तटमा आयोजना गरिएको थियो, जहाँ उक्त हमला भएको थियो।

श्रद्धाञ्जली

घाममा टल्किएका समुद्री छालसंगको बालुवाको तटमा गण्यमान्य व्यक्तिहरु उपस्थित थिए।

बीबीसी संवाददाता एलन जोन्स्टन भन्छन् उपस्थितहरुमा ट्यूनिशियाका प्रधानमन्त्री र ब्रिटिश राजदूत पनि थिए।

तिनीहरुले गत हप्ता बन्दूकधारीले अन्धाधुन्ध गोली चलाएर पौडी खेलिरहेका र घाम तापिरहेका मानिसहरुको ज्यान लिएको स्थानमा पुष्पगुच्छा चढाएका थिए।

हाम्रा संवाददाता भन्छन्, लण्डनमा पनि बकिंघम राजदरबार र अन्य सरकारी भवनहरुमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो।

गत हप्ताको हमलामा मारिने मध्ये तीस जना ब्रिटिश नागरिक थिए।

मौन श्रद्धाञ्जली समारोहमा ब्रिटेनमा रहेका कतिपय मस्जीदहरु पनि सहभागी थिए।

मुल्यवान

कतिपयले ट्यूनिशियामा मारिएकाहरुलाई आफ्ना शुक्रबारे प्रार्थनाका क्रममा सम्झना पनि गरेका थिए।

ब्रिटेनको बर्मींघम शहरको केन्द्रीय मस्जीदमा मौन धारण कार्यक्रममा ६ हजार जनाको सहभागीता थियो।

मस्जीदका अध्यक्ष मोहम्मद अफजलले भने, “कुरानमा भनिएको छ कुनै एकजना व्यक्तिको ज्यान लिनु भनेको समग्र मानवताकै हत्या गर्नु बराबर हो।"

उनले भने, “ती निर्दोष पर्यटकहरुले कुनै पाप गरेका थिएनन्, तिनीहरुले कुनै गल्ती गरेका थिएनन् र तिनीहरुको ज्यान पनि अरु कुनै मानिसको जतिकै मुल्यवान थियो।"

टेनिस प्रतियोगीता भइरहेको विम्बलडन खेल मैदानमा पनि सहभागीहरुलाई मौन धारण गर्ने समय प्रदान गर्न, नियमित ११:३० बजेको सट्टा शुक्रबारको खेल १२:१५ मा आरम्भ गरिएको थियो।