ट्युनिसियाः राष्ट्रपतिद्वारा संकटकालको बचाउ

  • 5 जुलाई 2015
तस्वीर कपीराइट EPA
Image caption होटल र समुद्री तटमा १४ सयभन्दा बढी सशस्त्र अधिकारीहरुलाई खटाइएको छ

मुलुकमा संकटकाल घोषणा गरेका ट्युनिसियाका राष्ट्रपति बेजी काइद एस्सेब्सीले उक्त निर्णयको बचाउ गरेका छन्।

सूस शहरमा एकजना बन्दुकधारीले गरेको आक्रमणमा अधिकांश ब्रिटिश पर्यटकसहित ३८ जना मारिएको एक सातापछि संकटकाल घोषणा गरिएको हो।

संकटकाल घोषणाले सुरक्षा फौजलाई थप अधिकार दिन्छ भने सार्वजनिक भेला हुने पाउने नागरिक अधिकारमा कटौती हुन्छ।

अधिकारीहरुले सुरक्षा व्यवस्था कडा पारिसकेका छन्।

“अपवादपूर्ण कदम”

होटल र समुद्री तटमा १४ सयभन्दा बढी सशस्त्र अधिकारीहरुलाई खटाइएको छ।

राष्ट्रको नाममा संबोधन गर्दै राष्ट्रपति एसेब्सीले “अपवादपूर्ण कदमहरु” चाल्न आवश्यक भएको बताए।

अन्तर्राष्ट्रिय प्रतिआतंकवाद सहयोग र सहकार्यका निम्ति अपिल गर्दै उनले भने, “यो पीडाको सामना गर्नका निम्ति हामीले तयारी गर्नुपर्छ, हामीसँग पर्याप्त फौज हुनुपर्छ, आवश्यक प्रशिक्षण र साधन हुनुपर्छ, हामीलाई आवश्यक सामग्रीहरु चाहिएका छन्।”

सूसमा भएको आक्रमणपछि त्यहाँका गभर्नरसहित धेरै अधिकारीहरुलाई बर्खास्त गरिएको प्रधानमन्त्री कार्यालयका एकजना अधिकारीले बताएका छन्।

विफल

समाचार संस्था एएफपीलाई उनले भने, “सुरक्षा निकाय विफल भए जस्तै त्यहाँ राजनीतिक विफलता पनि देखिएको छ।”

जुन २६ तारिखमा गरिएको आक्रमण लगत्तै आवश्यक कदम चाल्न नसकेको भन्दै सुरक्षा निकायको आलोचना भएको थियो।

एउटा समुद्री तट र होटलमा आक्रमण गरेका बन्दुकधारी पछि सुरक्षाकर्मीद्वारा मारिएका थिए।

बन्दुकधारीको आक्रमणमा मारिने ३८ जनामध्ये ३० जना ब्रिटिश नागरिक थिए।