लण्डन बम हमलाहरुको दशौं वर्षगांठ

  • 7 जुलाई 2015
तस्वीर कपीराइट
Image caption लण्डन बमहमलामा ५२ जनाको ज्यान गएको थियो भने ७०० भन्दा बढी मानिस घाइते भएका थिए

लण्डनमा, शहरको यातायात प्रणालीमा भएको इस्लामवादी बम हमलाको दशौं बर्षगांठका बेला विभिन्न स्मृति कार्यक्रमहरु भएका छन्।

लण्डनमा चल्ने यात्रुबाहक बस र भूमिगत रेल सेवामा दश वर्ष अघि भएका आत्मघाती बमहमलाहरुमा ५२ जनाको ज्यान गएको थियो।

उक्त हमलामा मारिनेहरुका परिवार र राहत तथा उद्धारकार्यमा संलग्नहरु सेन्ट पल्स गिर्जाघरमा आयोजित एक श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका छन्।

सन् २००५ को जुलाई ७ तारिखको दिन भएका बम विस्फोटहरुमा परि ज्यान गुमाउनेहरुको सम्झनामा आयोजित समारोहहरुमा एक मिनेट मौन धारण गरी मृतकप्रति सम्मान व्यक्त गरिएको थियो।

मौन धारण

कुनै स्टेशनहरुले पहिलो बम विस्फोट भएको समय, विहानको आठ पचासमा नै मौन धारण गरेका थिए।

लण्डनको प्रसिद्ध सेन्ट पल्स गिर्जाघरमा आयोजित स्मृति समारोहमा, उक्त हमालामा मारिएकाहरुको परिवारजन र बाँच्न सफल भएकाहरु पनि भेला भएका थिए।

त्यहां बम हमला भएका चारवटा स्थानहरुको सम्झनामा चारवटै मैन बत्ती बालिएको थियो।

त्यसअघि, ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरन र लण्डन शहरका मेयर बोरिस जोन्सन लगायतका अधिकारीहरुले हाइड पार्कमा रहेको स्मारकमा पुष्पगुच्छा चढाएका थिए।

सन् २००५ को जुलाई सात तारिखमा लण्डनको तीनवटा भूमिगत रेल र एउटा बसमा अल कायदासंग सम्बद्ध चारजना बमहमलाकारीहरुले विस्फोट गराएका थिए।

चुनौती

ति हमलाहरु भएको १० वर्षपछि के ब्रिटेन त्यो बेला भन्दा बढी सुरक्षित भएको छ त?

बीबीसीका सुरक्षा संवाददाता फ्र्यांक गार्डनर भन्छन्, त्यस्तो प्रश्नको जवाफ सकारात्मक वा नकारात्मक दुवै हुन सक्छ।

उक्त बम हमलापछि अन्तर्राष्ट्रिय आतंकवादसंग जुध्ने दिशामा प्रहरी, जासुसी सेवा, सामुदायिक नेता सबै क्षेत्रमा उल्लेख्य प्रगति भएको छ।

अधिकारीहरु भन्छन् हाल सन् २०१५ को अहिले समयमा आतंकवादीहरुलाई १० वर्ष अघिकै जस्तो हमलाको योजना गर्न निकै नै गाह्रो पर्नेछ।

तर त्यस्ता खाले हमलाको जोखिमको प्रकृतिमा विविधता देखिएको छ।

र, त्यस्ता प्रकृतिका हमलाको योजनालाई बेलैमा पत्ता लगाउने र रोक्ने काम पनि बढ्दो रुपमा चुनौतिपूर्ण बन्न पुगेको छ।