नीति तथा कार्यक्रमः ‘पुनर्निर्माण केन्द्रित’

  • 8 जुलाई 2015
Image caption भूकम्पपछि पुनर्निर्माणका निम्ति अर्बौं रुपैयाँ लाग्ने सरकारी अनुमान छ

बुधबार सार्वजनिक गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मुख्यतया भूकम्पका कारण उत्पन्न परिस्थितिको सामना गर्नेमा लक्षित हुने अधिकारीहरुले बताएका छन्।

संविधान जारी भएपछि बन्ने सकारात्मक राजनीतिक वातावरणको फाइदा उठाउँदै आर्थिक विकासको चरणमा प्रवेश गर्ने लक्ष्य नीति र कार्यक्रमले लिएको सरकारका प्रवक्ताले बताए।

प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारको यो दोस्रो नीति तथा कार्यक्रम हो।

आर्थिक वर्ष २०७२/०७३ को सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामवरण यादवले संसदको बुधबारको बैठकमा प्रस्तुत गर्नेछन्।

प्राथमिकता

नीति तथा कार्यक्रममा भूकम्पले पूर्याएको भौतिक, आर्थिक र सामाजिक क्षतिलाई सम्बोधन गर्ने विषयलाई उच्च प्राथमिकता दिएको सरकारका प्रवक्ता तथा संचारमन्त्री मिनेन्द्र रिजालले बताए।

उनले भने, “भूकम्पबाट बाहिर निस्कनका लागि थुप्रै घरबारविहीन नागरिकलाई पुनर्स्थापना गर्नुछ, भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार, सामाजिक सम्पदाहरुको पुनर्निर्माण गर्नुछ, र यसैक्रममा रोजगारी श्रृजना गर्नुछ।”

भूकम्पको प्रभाव नपरेका जिल्लाहरुका राष्ट्रिय गौरवका आयोजनासहित अहिले पूरा नभएका ठूला आयोजनाहरुलाई निरन्तरता दिइने अधिकारीहरुले बताएका छन्।

यस वर्ष झण्डै साढे चार प्रतिशतले आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएपनि वैशाख १२ गते र त्यसयताका भूकम्पका कारण त्यो घटेर करिब ३ प्रतिशतमा सीमित हुने बताइएको छ।

अर्थतन्त्र

तर यस पटकको नीति तथा कार्यक्रम लागू हुँदा नयाँ संविधान जारी भइसक्ने भएकाले त्यसले अर्थतन्त्र उकास्न मद्दत गर्ने मन्त्री रिजालले बताए।

उनले भने, “सरकारको नीति तथा कार्यक्रम लागू हुने बेलामा मूलतः नेपालले नयाँ संविधान पाइसकेको अवस्था हुन्छ, हामी समृद्धिको यात्रा शुरु गरेका हुन्छौँ, त्यो समृद्धिको यात्राका लागि जग तयार गर्नुपर्ने हुन्छ, शिथिल रुपमा वृद्धि भइरहेको अर्थतन्त्रलाई ताजापनका साथ अगाडि बढाउका निम्ति जुन राजनीतिक वातावरण निर्माण भएको हुन्छ, त्यसलाई उपयोग गर्ने।”

यस वर्षको नीति तथा कार्यक्रममा देशलाई अति कम विकसित मुलुकबाट सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा पुर्याउने अभियानलाई निरन्तरता दिइने बताइएको छ।

नीति तथा कार्यक्रम संसदबाट पारित भएपछि सरकारले यसैलाई आधार बनाएर आर्थिक वर्ष २०७२/०७३ का लागि बजेट प्रस्तुत गर्ने छ।