मस्यौदाबारे रायसुझाव दिन सभाध्यक्षको अपील

  • 9 जुलाई 2015
Image caption सुझावहरु इमेलमार्फत पनि दिनसकिने व्यवस्था संविधानसभाले गरेको छ

संविधानको पहिलो मस्यौदामाथि आ-आफ्ना राय सुझाव दिन संविधानसभाका अध्यक्षले जनतालाई सार्वजनिक अपील गरेका छन्।

सभासदमार्फत प्रत्यक्ष अथवा अन्य सञ्चार माध्यममार्फत दिइएका त्यस्ता सुझावलाई समेटेर मस्यौदा परिमार्जन गरिने पनि उनले जनाए।

आगामी १५ दिनभित्र राय सुझाव संकलन गरिसक्ने गरी बनाइएको कार्ययोजना बिहीबार संविधानसभाले पारित गरेको हो।

संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले तयार पारेको कार्ययोजनालाई संविधानसभाले पारित गरे लगत्तै संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गले पत्रकार सम्मेलन डाकेका थिए।

अपील

त्यहाँ उनले लिखित अपील जारी गर्दै भने, "संविधान निर्माणको यस अति महत्वपूर्ण कार्य एवं राष्ट्रिय अभियानमा अत्यन्त उत्साहका साथ सरिक भई आफ्नो जिल्ला र क्षेत्रमा आईपुग्ने सुझाव संकलन टोलीलाई आ-आफ्ना सुझावहरु दिई सरिक हुन म विनम्रतापूर्वक आदरणीय दिदी बहिनी तथा दाजु भाईहरुमा हार्दिक अपील गर्न चाहन्छु।"

उक्त कार्ययोजना अनुसार शुक्रबार साँझसम्ममा जनमत संकलनका टोली जिल्ला जिल्लामा पुग्नेछन्। अनि ती टोलीमार्फत आइतबारसम्म गाउँ गाउँमा मस्यौदा पुग्ने अध्यक्ष नेम्वाङ्गले जानकारी दिए।

फास्ट ट्रयाक अथवा द्रुत गतिमा संविधान निर्माणमा मुख्य दलहरु लागेको हुँदा जनमत संकलनको कार्यलाई पनि छिटो छिटो सक्ने योजना अनुसार यसपटक जनतासंग राय माग्दा विषयगत नभई समष्टिगत प्रश्न सोध्ने तयारी संविधानसभाले गरेको छ।

यसअघिको पहिलो संविधानसभाका विषयगत समितिहरुले अवधारणा पत्र बनाउनेक्रममा थुप्रै जनमत संकलन गरिसकेको र तिनै अवधारणा पत्रमा आधारित भइ दोस्रो संविधानसभाले मस्यौदा तयार पारेको भन्दै तिनमा लम्बाचौडा प्रश्न सोधिराख्नु पर्ने आवश्यकता नरहेको संविधानसभाको बुझाइ रहेको देखिन्छ।

प्रकृया

अध्यक्ष नेम्वाङले भने, "तपाईंहरुकै सुझावमा आधारित भइकन तयार भएको यो मस्यौदा यहाँहरुलाई कस्तो लाग्यो? हाम्रो सोझो एउटै प्रश्न हुनेछ। र त्यसको उत्तर लिएर त्यसको आधारमा प्रतिवेदन तयार भएपछि संविधानसभा आफ्नो बाँकी प्रकृयामा अघि बढ्छ।"

जनताले दिएका उत्तरलाई आधार मानेर मस्यौदा परिमार्जन गरी संविधानको परिमार्जित विधेयक तयार हुने नेम्वाङ्गले बताए।

तर अझै प्रष्ट हुन नसकेको विषयचाहिं १५ दिनको थोरै समयमा हतार गरेर लिएको जस्तो देखिने राय सुझावलाई कसरी कुन मापदण्डका आधारमा परिमार्जित मस्यौदामा समेटिने हो भन्ने रहेको कतिपयको टिप्पणी छ।