फ्रान्स र इटलीद्वारा वित्तीय प्रस्तावको स्वागत

  • 10 जुलाई 2015
तस्वीर कपीराइट Getty
Image caption एकल युरोपेली मुद्रा युरो प्रचलनमा रहेका देशका अर्थमन्त्रीहरुले शनिबार बैठक गर्दैछन्

ग्रीसले आफ्ना अन्तर्राष्ट्रिय ऋणदाताहरुका सामु प्रस्तुत गरेको पछिल्लो प्रस्तावलाई फ्रान्स र इटलीले स्वागत गरेका छन् भने अन्यले त्यसप्रति आशंका र अविश्वास व्यक्त गरेका छन्।

उक्त प्रस्तावको विषयबस्तु अन्तर्राष्ट्रिय मुद्रा कोष, युरोपेली आयोग र युरोपेली केन्द्रीय बैंकले खोजेको कुराहरुको निकट भएको बुझिएको छ।

आइतबार हुने युरोपेली संघको शिखर बैठक अघि ग्रीसको सो पछिल्लो प्रस्तावको गहन अध्ययन भइरहेको छ।

युरोग्रुपका अध्यक्ष यरुन डाइसलब्लुमले ग्रीसले प्रस्तुत गरेको नयाँ प्रस्तावको अध्ययन गरेर कस्तो प्रतिक्रिया जनाउने भनी युरोजोनले शनिवार छलफल गर्ने बताए।

सम्भावना

तर जर्मनीले सावधान गराउंदै भनेको छ, ग्रीसको ऋणको भार कम गराउने निर्णय हुने सम्भावना न्यून छ।

गत आइतबार ग्रीसमा गरिएको जनमत संग्रहले अस्वीकार गरेका कतिपय बुँदाहरु समेत संलग्न गरिएको नयां प्रस्तावलाई ग्रीसका प्रधानमन्त्री एलेक्सीस सिप्रासले शुक्रबार मतदानका लागि संसदमा प्रस्तुत गर्दैछन्।

प्रधानमन्त्री सिप्रासले अन्तर्राष्ट्रिय ऋणदाताहरुले तोकेको विहीबारको समयसीमा भित्रै सुधारका नयां प्रस्तावहरु प्रस्तुत गरेका थिए।

आइतबार दिउंसो मौद्रिक नीतिबारे छलफल हुने युरोक्षेत्रका मन्त्रीहरु संलग्न युरोग्रुप भनिने समूहको बैठक बस्नेछ भने त्यसको दुईघण्टा पछि युरोपेली संघको पूर्ण स्तरको सम्मेलन हुनेछ।

इटलीका प्रधानमन्त्री माटेओ रेन्जीले आफू नयां प्रस्तावबाट आशावादी बनेको र शनिबार कुनै प्रकारको सहमति भएमा आइतबारका बैठकहरुको आवश्यकता नहुने पनि बताए।

फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलाण्डले ग्रीसको नयां प्रस्ताव गम्भीर र विश्वसनीय रहेको भन्दै त्यस मार्फत ग्रीकहरुले युरोक्षेत्रमा कायमै रहने आफ्नो दृढता देखाएको बताएका छन्। ‌