प्रधानमन्त्रीको प्रस्ताव ग्रीक संसदद्वारा अनुमोदन

  • 11 जुलाई 2015
तस्वीर कपीराइट epa
Image caption प्रधानमन्त्री एलेक्सिस सीप्रासले पहिलाकोभन्दा अहिलेको प्रस्ताव राम्रो भएको बताएका छन्

ग्रीक संसदले मुलुकमा जारी ऋण संकट समाधान गर्ने उद्देश्यका साथ प्रधानमन्त्री एलेक्सिस सीप्रासले पेश गरेको नयाँ प्रस्ताव शनिबार विहान अनुमोदन गरेको छ।

शुक्रबार अबेर राति उनले उक्त प्रस्ताव संसदको बैठकमा पेश गरेका थिए।

तेस्रो पटक आर्थिक सहायता पाउने र युरोमुद्रा प्रचलनमा रहेको युरोजोनबाट सम्भावित बहिर्गमन रोक्नु उक्त प्रस्तावको उद्देश्य रहेको छ।

प्रधानमन्त्रीले अघि सारेको प्रस्तावमा निवृत्तिभरणमा सुधार र करमा वृद्धि लगायतका विषयहरु समेटिएका छन्।

अस्वीकार

तर ती विषयहरुलाई हालै सम्पन्न जनमत संग्रहमा मतदाताहरुले अस्वीकार गरिदिएका थिए।

आइतबार हुने एउटा बैठकअघि युरोपेली युनियन र अन्य ऋणदाताहरुले ग्रीसको पछिल्लो प्रस्वातबारे अध्ययन गरिरहेको बताएका छन्।

फ्रान्स र इटलीले ग्रीक प्रस्तावको स्वागत गरेका छन्।

तर ग्रीसको सबैभन्दा ठूलो ऋणदाता जर्मनीले सम्झौताका निम्ति न्यून सम्भावना रहेको चेतावनी दिएको छ।

Image caption प्रधानमन्त्रीको नयाँ प्रस्तावमाथि शनिबार विहान संसदमा मतदान भएको थियो

ऋणदाता मुलुकहरुलाई पठाइएको नयाँ सहायता प्रस्तावमाथि सांसदहरुले शुक्रबार अबेर रातिदेखि छलफल गरिरहेका थिए र अघि विहान उक्त प्रस्वातमाथि मतदान भएको हो।

बाध्य

सांसदहरुलाई संबोधन गर्दै प्रधानमन्त्री एलेक्सिस सिप्रासले चुनावका बेला आफ्नो पार्टीको कार्यक्रममा नसमेटिएका विषयहरु नयाँ प्रस्तावमा समावेश गर्न बाध्य भएको बताए।

यद्यपि गत आइतबारको जनमत संग्रहले युरोजोनबाट बाहिरिने जनादेश नदिएको उनको भनाई थियो।

६ महिनादेखि सत्ता सञ्चालन गरिरहेको आफ्नो सरकारले गल्ती गरेको सीप्रासले स्वीकारे।

ऋणदाताहरुसँगको आफ्नो सरकारको संघर्षलाई उनले युद्धको संज्ञा दिए।

सीप्रासले भने, “अहिले आएर मलाई के लागिरहेको छ भने हामी एउटा बिन्दुमा पुगेका छौँ, जहाँबाट अगाडि खानी छ।”