'नयाँ कडा मितव्ययी उपायहरु लागू गर्ने सहमति'

  • 13 जुलाई 2015
तस्वीर कपीराइट Reuters
Image caption अब युरोजोनले माग गरे अनुसारका सुधारहरुलाई ग्रीसको संसदले बुधबारसम्ममा पारित गर्नु पर्छ।

युरोजोनका नेताहरुले ग्रीसलाई तेस्रो पटक ऋण सहायता दिन सहमति जनाएपछि ग्रीसका प्रधानमन्त्रीले त्यसको बदलामा नयां कडा मितव्ययी उपायहरु लागू गर्ने बताएका छन्।

ब्रसेल्समा भएको त्यस्तो सहमति अनुसार करको दरमा वृद्धि, निवृत्तीभरणमा कटौती र श्रम कानुनहरुमा परिवर्तन जस्ता विषयलाई बुधबार सम्ममा एथेन्सको संसदले पारित गर्नु पर्नेछ।

त्यसपछि मात्र आगामी तीन वर्षमा ९५ अर्ब डलर सम्म ऋण दिनेबारे वार्ताहरु आरम्भ हुने छन्।

प्रधानमन्त्री सिप्रासले भने, "यो समग्र प्रकरणमा ग्रीसले गतिलो संघर्ष गरेको छ। तर अब अप्ठ्यारा निर्णयहरु गर्ने बेला आएको छ।"

प्याकेज

ब्रसेल्समा रातभरि चलेको लामो बैठकको अन्त्यमा ग्रीसलाई तेस्रो वित्तीय राहत सहायता प्रदान गर्न युरोजोनका नेताहरु तयार भएका हुन्।

युरोपेली संघकै इतिहासमा सबैभन्दा खराब संकट भनिएको अवस्थामा युरोपेली आयोगका प्रमुखले भने, "अब ग्रीसले एकल युरोपेली मुद्रा प्रचलनमा रहेका देशहरुको समूहबाट बाहिरिनु पर्ने स्थिति टरेको छ।"

ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले, उनकै शब्दमा, एउटा कडा युद्ध पछि ग्रीसले आफ्नो वैदेशिक ऋणलाई पुन:संरचना गर्नुका साथै आर्थिक वृद्धिको प्याकेज समेत पाएको बताए।

ती सुधारका विषयहरुमा निवृतिभरणको व्यवस्थामा एकरुपता ल्याउने, कर बापत प्राप्त हुने राजस्वमा ‌ वृद्धि गर्ने र श्रमबजारलाई उदार बनाउने जस्ता उपायहरु पर्दछन्।

उपाय

यी नयां प्रावधानहरुलाई युरोजोनका कतिपय देशका संसदले पनि अनुमोदन गर्नुपर्नेछ।

एथेन्समा रहेका बीबीसी संवाददाता ग्याभिन हेविट भन्छन्, एथेन्सले तेस्रो वित्तीय राहत सहायता पाउने भएपछि ग्रीस एउटा असफल राष्ट्रमा परिणत भइ टाट पल्टिने अवस्थाबाट जोगिएको छ।

साथै उक्त देश युरो समूह भित्रै कायम रहने छ।

तर यो सम्झौताले कतिपय ग्रीकहरुलाई भने अपमानित अनुभव गराउन सक्नेछ।

असहज

देशमा वामपन्थी झुकाव भएकाहरुले मात्रै नभएर अन्यले पनि सरकारले आत्मसमर्पण गरेको भन्ने शब्दावलीको प्रयोग गरिरहेका छन्।

युरोजोनले प्रस्ताव गरेका सुधारका नयां प्रावधानहरु संसदबाट पारित गराउनु प्रधानमन्त्री सिप्रासका निम्ति त्यति सहज हुने छैन।

त्यसपछि मात्र आगामी सोमबारसम्म युरोपेली केन्द्रीय बैंकलाई तिर्नु पर्ने रकमको किस्ता बुझाउन ग्रीसलाई सहयोग पुग्ने गरी नयां कर्जा प्रवाह गरिने छ।

अर्को तर्फ अब यो नयां सम्झौतापछि ग्रीसमा अर्को निर्वाचन हुने लगभग निश्चित भएको बताईंदै छ।

चुनौती

प्रधानमन्त्री सिप्रासले मन्त्रिपरिषद्को पुनर्गठन गर्नेछन् र उनको पछिल्लो प्रस्तावको विरोध गरेका मन्त्रीहरुलाई हटाउने छन्।

ग्रीसको आर्थिक संकटका सम्बन्धमा भएको पछिल्लो सहमतिप्रति प्रतिक्रिया व्यक्त गर्दै फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलाण्डले भने, अब उक्त सहमतिले युरोपलाई एकताबद्ध रहन मद्दत गर्नेछ।

युरोजोनलाई कैयौं बर्ष देखि सताइरहेको संकट समाधान गर्न युरोप सक्षम छ भन्ने पनि उक्त सहमतिले देखाएको उनले बताए।

तर जर्मनीकी चान्सलर एंगेला मर्केलले एउटा सहमतिमा पुगिएको भए पनि वित्तीय राहत सहायतालाई अन्तिम रुप दिनका लागि ग्रीस र उसका युरोपेली साझेदारहरुले लामो र चुनौतीपूर्ण बाटो पार गर्नुपर्ने भनी सावधान गराएकी छिन्।