युरोजोनका नेताहरु रातभर बैठकमा

  • 13 जुलाई 2015
तस्वीर कपीराइट Reuters
Image caption ग्रीसका प्रधानमन्त्री कुनै पनि ग्रीक बैङ्क टाट पल्टिनुअघि नै सहमतिमा पुग्न चिन्तित छन्

ग्रीसलाई रकमविहीन हुनबाट जोगाउने सहमतिको खोजीका निम्ति युरोमुद्रा प्रचलनमा रहेको युरोजोनका नेताहरु एउटा आपकालनीन बैठकमा व्यस्त भएका छन्।

ब्रसेल्समा उनीहरुबीच रातभरजसो बैठक भएको थियो।

युरोजोनका अर्थमन्त्रीहरुको निष्कर्षविहीन श्रृँखलाबद्ध बैठकपछि ग्रीसको भविष्यको निर्णय गर्ने जिम्मा युरोजोनका नेताहरुमाथि आएको छ।

उनीहरु आउँदो तीन दिनमा ग्रीस सरकारले आफ्नो संसदमार्फत कानुनहरु बनाओस् भन्ने चाहन्छन्।

आर्थिक जोहो

ती कानुनहरु बनेपछि मात्रै ग्रीसको ऋण संकट समाधानको तेश्रो प्रस्तावमा सहमतिको शुरुवात हुनसक्छ।

जर्मनीले नेतृत्व गरेको ग्रीसप्रति शंका गर्ने देशहरुको समूह कुनै पनि सहमतिमा पुग्नुअघि ग्रीसले अझ विस्तृत योजना ल्याओस् भन्ने चाहन्छन्।

ग्रीसका प्रधानमन्त्री एलेक्सीस सीप्रास कुनै पनि ग्रीक बैङ्क टाट पल्टिनुअघि नै सहमतिमा पुग्नका निम्ति चिन्तित छन्।

बैंङ्कहरु टाट पल्टिने अवस्था आउन केही दिनमात्र बाँकी छ।

अन्तर्राष्ट्रिय दाताहरुले आर्थिक रुपमा टाट पल्टिनबाट जोगिन ग्रीसलाई ८६ अर्ब युरो सम्म खाँचो पर्ने अनुमान गरेका छन्।

तर आपतकालीन सहायता जुटाउन अहिलेसम्म कुनै सहमति भएको छैन्।

युरोपेली केन्द्रीय बैङ्कका अध्यक्ष मारियो ड्रागीले आफू ऋण संकट समाधानबारे सहमति नहुँदासम्म कुनै पनि किसिमको आपतकालीन सहायताका निम्ति निर्णय गर्न असमर्थ रहेको बताए।

चक्रव्यूह

बीबीसीका एथेन्स संवाददाता क्रीस मरिस भन्छन्, “धेरै विषयहरु यहाँ दाउमा छन्, यो ग्रीसको कुरा मात्र होईन वास्तवमा प्रचलनमा रहेको एउटै मुद्राको उपादेयता र विश्वसनीयताको कुरा हो, जुन युरोपेली संघबीचको एकताको सबैभन्दा महत्वपूर्ण द्योतक र व्यवहारिक उदाहरण बनेको छ।”

हाम्रा सम्वाददाताका अनुसार चक्रव्यूहको केन्द्रमा रहेका कट्टरपन्थी वामपन्थी नेता ग्रीसका प्रधानमन्त्री एलेक्सीस सीप्राससामु सीमित विकल्प छन् तर उनी आशावादी रहनु पर्नेछ।

अन्य राजनीतिक दलहरुबाट पनि मध्यमार्गीहरुलाई समेटन उनले आफ्नो मन्त्रिमण्डल यसैसाता पुनर्गठन गर्ने सम्भावना छ।

त्यसो गर्दा मितव्ययीता सम्बन्धमा कट्टरविचार राख्ने मन्त्रीहरु निकालिन सक्छन्।