'सीमांकनबारे दलहरुबीच छलफल जारी छ'

  • 13 जुलाई 2015
Image caption प्रधानमन्त्री कोइरालाले दलहरुबीच छलफल भैरहेको जनाएका छन्

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संघीयता र राज्य सीमांकनको विषयलाई टुंग्याएर लैजाने कुरामा १६ बुँदे सहमति गरेका दलहरुबीच छलफल भइरहेको बताएका छन्।

१६ बुँदे सहमति गरेका दलहरुवीच नै उक्त विषयमा विवाद सिर्जना भएका बेला उनले सकेसम्म सबै विषयलाई समेटेर संविधान जारी गर्ने विषयमा छलफल भइरहेको बताएका हुन्।

सोमबार झापाको चन्द्रगढीमा आयोजित एक सार्वजनिक समारोहमा बोल्ने क्रममा १६ बुँदे सहमति गरेका चारै दलका शीर्ष नेताहरुले संविधान आउने विषयमा शंका नगर्न आग्रह गरेका थिए।

नयाँ संविधानका लागि १६ बुँदे सहमति गरेका चार राजनीतिक दलबीच नै संघीयता र राज्य सीमांकनको विषयमा मतभेद देखिएको बेला प्रधानमन्त्री सुशील कोइरालाले सो मतभेदका विषयलाई टुंग्याउने किसिमले चारदलबीच छलफल भइरहेको बताए।

आग्रह

सहमतिको विरोध गरिरहेका दलहरुलाई पनि उनले संघीयताका विषयमा दुविधामा नपर्न आग्रह गरे।

कोइरालाले भने, "हामी चार राजनीतिक दल संघीयता र राज्य सीमांकन गरेरै संविधान जारी गर्ने विषयमा कुराकानी गरिरहेका छौं, जसले गर्दा कसैले पनि आन्दोलन गर्नु नपरोस्।"

झापाको चन्द्रगढीमा निर्माण गर्न लागिएको गिरिजाप्रसाद कोइराला स्मृति सभाहल शिलान्यास सभालाई सम्बोधन गर्दै १६ बुँदे सहमतिमा हस्ताक्षर गरेको अर्को दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अहिले बनेको संविधानको मस्यौदा कुनै दललाई पूर्ण स्वीकार्य नभएको भए पनि अब बन्ने नयाँ संविधान नेपालीको संविधान हुने दावी गरे।

उनले भने, "बन्न लागेको नयाँ संविधानका प्रावधान न कांग्रेसलाई मन परेको छ, न एमालेलाई मन परेको छ, न एमाओवादीलाई मन परेको छ न अन्य दललाई। तर उपाय नभएपछि ल्याउनै पर्ने वाध्यता भएकाले भए पनि अब बन्ने संविधान नेपालीको संविधान बन्नेछ।"

उनले अहिले पनि संविधान बन्न नदिने प्रयासहरु भइरहेको बताउँदै त्यसका लागि राजनीतिक दलहरु सजग रहेको बताए।

सभाका अर्का वक्ता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बन्न नदिनका लागि केही दलले १६ बुँदे सहमतिको विरोध गरिरहे पनि वर्तमान संविधानसभाले संविधान जारी गरेरै छाड्ने बताए।

ओलीले भने, "संविधान बन्न नदिने प्रपञ्च तुलसाका मोठ देखि वरपीपलका चौतारीमा सम्म भयो। तर यो संविधानसभाले संविधान बनाएरै छाड्छ।"

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रकाशमान सिंह तथा कृष्णप्रसाद सिटौला र नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलले १६ बुँदे सहमति संविधान निर्माणको आधार भएको धारणा राखेका थिए।