तातोपानी भंसारबाट राजस्व संकलनमा कमी

  • 13 जुलाई 2015
कोदारी राजमार्ग
Image caption वर्षापछि मात्र तातोपानी नाका खुल्ने भनिएपछि व्यवसायीहरु सामान ल्याउन महंगो वैकल्पिक बाटोको खोजीमा लागेका छन्

भूकम्पपछि पुनर्निर्माणका लागि देशलाई धेरै रकम चाहिएको बेला चीनसँगको मूल नाका रहेको तातोपानी भन्सार वैशाखमा गएको भूकम्पपछि ठप्प हुँदा राजस्व संकलनमा भारी गिरावट आएको भंसार विभागले जनाएको छ।

तातोपानी-खासा नाका पूर्ण रुपमा खुल्न नसक्दा राजस्वमा घाटामात्र होइन, यसपालिका मुख्य चाडबाडका बेला बजार भाउ आकासिने सम्भावना पनि बढेको व्यापारीहरुले बताएका छन्।

यस आर्थिक वर्षको प्रारम्भमा सिन्धुपाल्चोकको जुरेमा पहिरो गई कोदारी राजमार्ग अबरुद्ध हुन पुग्दा राजस्व संकलनमा असर पुगेको थियो।

गत वैशाख १२ को भूकम्पपछि कोदारी राजमार्ग पुन: बन्द हुन पुगेको हो।

अवरुद्ध

प्रमुख बाटो अवरुद्ध हुँदा व्यापारीहरुको सामग्री आउन सकेको छैन्।

अर्बौं रुपैयाँको समान बाटोमा अड्किएको छ भने त्यसबाट राजस्व संकलनमा ठूलो असर परेको छ।

भंसार विभागका अनुसार तातोपानी नाकाबाट यसवर्ष लक्ष्य गरिएभन्दा आधा राजस्व रकम पनि उठ्ने लक्षण छैन।

भंसार विभागका प्रवक्ता सूर्य सेढाईं भन्छन्, “यो आर्थिक वर्ष ५ अर्ब ९० करोड रुपैंयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो, तर हालसम्म २ अर्ब ६० करोड रुपैंयाँ मात्र उठ्न सकेको छ, यो पोहोर सालको दाँजोमा झण्डै २ अर्ब रुपैयाँ कम हो।”

चीनबाट आउनेमध्ये ८० प्रतिशत सामान भित्रिने भनिएको तातोपानी नाका राजस्व संकलनको एक महत्वपूर्ण नाका मानिन्छ।

अहिले सरकार र व्यापारिक संस्थाहरुको पहलमा केही समयको लागि उक्त नाका खोलिंदा रोकिएको २ सय ५० वटा कन्टेनर काठमाण्डू पुर्याइसकिएको छ।

चिन्ता

अझै ५ सयभन्दा बढी कन्टेनर चीनमा नै अड्किएको व्यापारीहरुले बताएका छन्।

नेपाल हिमालय सिमापार वाणिज्य संघका सचिव निरज राई भन्छन्, “सानादेखि ठूला उद्योग, कच्चा पदार्थहरु अड्किएका छन्, निम्नदेखि ठूला व्यापारीहरुका अर्बौंको सामाग्री रोकिएका छन्, व्यापार घाटाको आकार ठूलो बन्दैछ।”

सचिव राईका अनुसार चिनियाँ पक्षले पहिरो आउने खतरा रहेको भन्दै वर्षापछि मात्र सो नाका खोल्ने बताएपछि उनीहरुले वैकल्पिक मार्गको रुपमा पानी जहाज मार्फत भारतको कोलकाता बन्दरगाहबाट सामग्री झिकाउन थालेका छन्।

यसले गर्दा आउँदो ठूलो चाड दशैंका बेला मुल्यवृद्धि हुन सक्ने सम्भावना बढेको व्यापारीहरुले बताएका छन्।