आर्थिक वर्ष २०७२/७३ को बजेट आज आउने

  • 14 जुलाई 2015
अर्थ मन्त्री महत तस्वीर कपीराइट AFP
Image caption मंगलबार सार्वजनिक गर्ने बजेटका लागि ८ खर्ब ४१ अर्ब रुपैयाँको सीमा तोकिएको छ

सरकारले आज आर्थिक वर्ष २०७२/७३ को बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

बजेटको ठुलो हिस्सा नीति तथा कार्यक्रम अनुसार भूकम्प पछिको पूनर्निर्माणका लागि छुट्याइएको अधिकारीहरुले बताएका छन्।

राष्ट्रिय गौरवका आयोजना र विगतका आर्थिक वर्षमा शुरु गरिएका आयोजनाहरुलाई पनि पर्याप्त बजेट बिनियोजन गरिएको सरकारी भनाइ छ।

सन् २०२२ सम्म मुलुकलाई अतिकम विकसितबाट विकासशील राष्ट्रको श्रेणीमा लैजाने लक्ष्य पुरा गर्ने कार्यक्रमहरुलाई पनि बजेटले समेटेको बताइएको छ।

अर्थमन्त्री रामशरण महतले मंगलबार सार्वजनिक गर्ने बजेटका लागि ८ खर्ब ४१ अर्ब रुपैयाँको सीमा तोकिएको छ।

‘सीमा’

सामान्यतया सीमा मिचिने गरिएपनि यसपटक भने सीमाकै हाराहारीमा बजेट ल्याउने अधिकारीहरुले बताएका छन्।

विशेष गरेर भूकम्प पछिको पुनर्निमाणमै बजेट केन्द्रित हुने अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले बताए।

“आगामी आर्थिक वर्षको बजेट भूकम्पपछि क्षतिग्रस्तको संरचनाहरुको पुननिर्माण र पुनर्स्थापनामा नै बजेट मूल रुपमा हुनेछ।”

बजेटले क्षति भएका घर, व्यवसायिक भवन, ऐतिहासिक सांस्कृतिक एवम् पुरातात्विक महत्वका सम्पदा, सरकारी भवन, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, सडक र विद्युत लगायतका भौतिक संरचनालाई प्राथामिकता दिने बताइएको छ।

विकासमा दूरगामी प्रभाव राख्ने र राष्ट्रिय गौरवका आयोजनामा, चालू आर्थिक वर्षकै अनुपातमा बजेट विनियोजन गरिने प्रवक्ता पुडासैनीले बताए।

“ठूला पुर्वाधारका आयोजना र गत वर्ष देखि सञ्चालनमा आएका आयोजनाहरुले पने निरन्तरता पाउँछन्।”

आशंका

द्वन्दकालमा ध्वस्त भौतिक संरचनाको पुनर्निर्माणलाई पनि निरन्तरता दिने गरि बजेट विनियोजन गरिएको अधिकारीहरुले बताएका छन्।

सन् २०२२ सम्म मुलुकलाई अतिकम विकसितबाट विकासशील राष्ट्र बनाउने लक्ष्य पुरा गर्ने गरि विगत वर्षहरु देखि नै संचालन भएका कार्यक्रमहरुमा पनि पर्याप्त बजेट राखिएको बताइएको छ।

तर विनियोजित विकास बजेट, पूरा खर्च नहुने र खर्च भए पनि आर्थिक वर्षको अन्त्यतिर हतारोमा खर्च गर्ने पुरानै प्रवृत्ति यसपटक पनि दोहोरिए सरकारी लक्ष्य प्राप्त हुनेमा कतिपयले आशंका व्यक्त गरेका छन्।