इरानको परमाणु कार्यक्रम सिमित बनाउने सहमति

  • 14 जुलाई 2015
Image caption तेहरान र विश्वका ६ शक्ति राष्ट्रबीच भएको सहमतिका लागि हप्तौंसम्म गहन छलफलहरु भएका थिए

इरानको परमाणु कार्यक्रमलाई सिमित तुल्याउनेबारे वर्षौंदेखि भइरहेको वार्तामा सहमति भएको घोषणा गरिएको छ।

उक्त सहमति पछि इरानविरुद्ध लागु अन्तर्राष्ट्रिय प्रतिबन्धहरु खुला हुनेछन् भने बदलामा उक्त देशले परमाणु अस्त्र बनाउन नसकोस् भनेर तयार पारिएका उपायहरु अपनाउनु पर्नेछ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले इरानसंग सहमति भएपछि उक्त देशले परमाणु अस्त्र निर्माण गर्नसक्ने सबै बाटोहरु बन्द भएको बताएका छन्।

एउटा टेलिभिजन भाषणमा बोल्दै राष्ट्रपति ओबामाले इरानसंगको सम्झौताले विश्वलाई झन सुरक्षित बनाउनेमा जोड दिएका छन्।

प्रक्रिया

उनले त्यस्तो सम्झौता आपसी विश्वासमा भन्दा पनि खोजी, अनुसन्धान र पुष्टीको कडा प्रक्रियामा आधारित रहेको बताएका छन्।

उनका इरानी समकक्षी हसन रुहानीले उक्त सहमतिले विश्वसंग इरानको सम्बन्धमा नयां अध्याय खोलेको बताए।

आफ्नो टेलिभिजन सम्बोधनमा रुहानीले इरानी जनताको प्रार्थनाहरु साकार भएको बताए। यो विषयमा इरान र विश्वका छ शक्ति राष्ट्रहरु– अमेरिका, ब्रिटेन, फ्रान्स, चिन, रुस र जर्मनीबीच सन् २००६ देखि नै विभिन्न वार्ताहरु भइरहेका थिए।

पी फाइभ प्लस वान भनिने शक्ति राष्ट्रहरुको समूहले इरानले आफ्नो संवेदनशील परमाणु गतिविधिलाई परमाणु अस्त्र बनाउन नसक्ने तहमा झार्नु पर्ने माग गर्दै आएको थियो।

अर्को तर्फ इरानले आफ्नो परमाणु गतिविधि शान्तिपूर्ण कार्यका लागि भएको भन्दै देशको अर्थतन्त्रमा ठूलो नकारात्मक प्रभाव पारिरहेको अन्तर्राष्ट्रिय प्रतिबन्धहरु हटाइनु पर्छ भन्दै आएको थियो।

प्रयोग

उक्त सम्झौताको इरान र अमेरिकामा रहेका अलिकति परम्पारगत सोच भएको ठानिनेहरुबाट कडा प्रतिरोध भएको छ।

अमेरिकी संसदसंग यो सम्झौतालाई अनुमोदन गर्न साठी दिनको समय छ, तर राष्ट्रपति ओबामाले सो सम्झौतालाई रोक्ने प्रयास भएमा त्यसमाथि आफूले भिटो प्रयोग गर्ने बताएका छन्।

अमेरिकी प्रतिनिधि सभा, हाउस अफ रिप्रीजेन्टेटिभ्सका रिपब्लीकन सभामुख, जन बेहनरले उक्त सम्झौताबाट इरान उनकै शब्दमा “झन सूरो” बन्न जानेछ।

इजरेलको सरकारले पनि इरानसंग हुने सहमतिका विरुद्ध चेतावनी दिएको छ।

युरोपेली संघका विदेशमामिला प्रमुख फेडरिका मोघेरिनीले भनिन् यो सहमति सारा विश्वका लागि नै आशाको संकेत हो।

उनले यसबाट क्षेत्रिय तथा अन्तर्राष्ट्रिय शान्तिमा योगदान पुग्ने बताएकी छन्।