अर्मलामा फेरी भ्वाङ पर्न थालेपछि त्रास बढ्यो

  • 16 जुलाई 2015
Image caption पहिला देखिएका ठाउँमा मात्रै नभइ केही नयाँ ठाउँमा समेत जमिन भासिन थालेको छ

पोखरा बजारको करीब ६ किलोमिटर उत्तरमा रहेको अर्मलामा केही दिनअघि देखि जमीन भास्सिएर भ्वाङ् पर्न थालेपछि त्यहाँका मानिसहरुमा चिन्ता बढेको छ।

२०७० सालको मंसिरमा कतिपय किसानहरु खेतमा दाईँ गराइरहेको बेला फाँटका एकसय भन्दा बढी ठाउँमा जमिन भास्सिएको थियो।

जमिन भासिने क्रम डेढ वर्षपछि फेरी देखिन थालेको छ।

यसअघि जमिन भासिएपछि भूगर्भविदहरुले उक्त क्षेत्रमा कुलो लगाएर खेती नगर्न दिएको सुझाव कतिपय स्थानिय बासिन्दाले नमान्दा पुन: समस्या दोहोरिएको केही भूगर्भविदले बताएका छन्।

चिन्ता

असार अन्तिम साताबाट देखिन थालेको जमिनका ठूला-ठूला प्वालहरुको संख्या अहिलेसम्म एक दर्जन पुगिसकेको छ।

यसअघि जमीन भासिँदा पोखराबाट अर्मला जाने पक्की सडक भासिएको थियो भने खानेपानीको पाइपमा समेत क्षति पुगेको थियो।

पहिला देखिएका ठाउँमा मात्रै नभइ केही नयाँ ठाउँमा समेत जमिन भासिन थालेको छ।

यसरी भासिएर बनेका खाल्डाहरु करिब १५ फिटसम्म गहिरा छन् भने झन्डै ६० फिट चौडा छन्।

खेत र बाटोमा मात्रै नभइ घर नजिक पनि जमीन भास्सिएका कारण डर बढेको स्थानीय बासिन्दा कमल कार्कीले बताए।

जमीनमा देखिएको त्यस्ता खाडलले डर बढाएपछि कतिपय मानिसहरुले भने आफैँ पुर्न थालेका छन्।

अर्मला नजिकै बग्ने कालीखोलामा कमेरो पानी मिसिएको जस्तो देखिन थालेको छ।

यसअघि पनि अर्मलामा जमीन भास्सिएको बेला काली खोलामा सेतो पानी देखिएको थियो।

यसको कारणबारे पोखराको जमीनको अध्ययन गरेका देवेन्द्रबहादुर लामिछानेले भने, “अर्मला क्षेत्रमा केही फिट तल कमेरो माटो भएकोले पानी माटो नजिक पुग्नासाथ माटो बगेर जमीन भास्सिएको हो।”

त्यसबाहेक काली खोला गहिरिएका कारण पनि यो समस्या देखिएको उनले बताए।

भूगर्भविद श्रीकमल द्वीवेदीका अनुसार त्यहाँका स्थानीय बासिन्दाले सरकारले सुझाए अनुसार खेती नगर्दा समस्या दोहोरिएको हो।

आँकलन

सरकारले गठन गरेको प्राविधिक टोलीले अघिल्लो घटनापछि त्यस क्षेत्रको विस्तृत अध्ययन गरी त्यहाँ कुलो लगाएर धान नरोप्न र खेती प्रणालीमा परिवर्तन ल्याउन सुझाव दिएको थियो।

द्वीवेदीले भने, “तर यसपटक केही क्षेत्रमा कुलो लगाएर धान खेती गरेपछि पुन: यो समस्या दोहोरिएको हो।”

अघिल्लो पटक जमीन भास्सिएपछि त्यस क्षेत्रको अध्ययन गरिएको थियो।

उक्त प्रतिवेदनले सुझाए अनुसार काली खोलामा अहिले चेक ड्यामहरु निर्माण भइरहेको छ भने भूमिगत पानीलाई सतहमा ल्याई पक्की ढल निर्माण लगायतका कामहरु भएका छन्।

त्यस क्षेत्रका बुढापाकाहरुका अनुसार पहिले त्यहाँ बग्ने सानो खोलालाई पुरेर खेत र कालान्तरमा घर घडेरीमा परिणत गरेपछि भूमिगत पानीले यो समस्या ल्याएको आँकलन गरिएको छ।

‘जेठो बुढो’ धान फल्ने अर्मला फाँटमा पक्की बाटो बनेपछि खेतहरु क्रमशः घडेरीमा परिणत भएका थिए।

पोखरामा जमीनमा खाल्डा पर्ने घटना भने नयाँ होइन।

अर्मला नजिकै बाटुलेचौरमा प्रसिद्ध महेन्द्र गुफा, चमेरे गुफाहरु पनि यस्तै प्रकृयाबाट बनेका हुन् भन्ने विज्ञहरुको तर्क छ।

साथै वर्षामा पोखरा बजार क्षेत्रमा पनि ठाउँठाउँमा खाल्डाहरु पर्दछन्।