ग्रीसलाई तत्काल ७ अर्ब युरो दिने सहमति

  • 16 जुलाई 2015
तस्वीर कपीराइट AP
Image caption उक्त बिषयबारे जर्मनीको संसदमा शुक्रबार मतदान हुदैँछ।

ग्रीसको ऋण संकट समाधानका निम्ति ल्याइएको प्रस्ताव पूर्ण अनुमोदन नभएसम्म त्यहाँको अर्थतन्त्रलाई क्रियाशील गराइराख्न तत्कालका लागि ७ अर्ब युरो कर्जा उपलब्ध गराउने सहमति युरोजोनका मन्त्रीहरुले गरेका छन्।

५ वर्षमा तेस्रोपटक उपलब्ध गराउन लागिएको कर्जा सहयोगबारेको उक्त निर्णयलाई शुक्रबार युरोपियन काउन्सिलले अनुमोदन गर्ने बताइएको छ।

युरोजोनका मन्त्री तथा उच्च अधिकारीहरु सहभागी सम्मेलनमा ऋण संकट समाधान सम्बन्धी प्रस्ताव पूर्ण अनुमोदन नभएसम्म तत्कालका लागि उक्त रकम दिने सहमति भएको हो।

युरोपेली संघको आपतकालीन कोषबाट उक्त सहयोग उपलब्ध गराउने बताइएको छ।

सहयोग

युरोपेली संघको काउन्सिलमा मतदान भएपछि शुक्रबार उक्त निर्णय अनुमोदन हुने ठानिएको छ।

बुधवार साँझ ग्रीसको संसदले मितव्ययिता सुधार सम्बन्धी शर्तहरु अनुमोदन गरेपछि आपतकालीन सहायता उपलब्ध गराउनेबारे छलफल शुरु भएको थियो।

संवाददाताहरु भन्छन्, पछिल्लो निर्णयले झन्डै तीन हप्ता यता बन्द रहेका ग्रीक बैँकहरुलाई तत्कालै खुलाउन आपतकालीन सहयोग उपलब्ध गराउने बाटो खोल्नेछ।

युरोपेली केन्द्रिय बैंकले अलग्गै ग्रीक बैंकहरुलाई सहयोग गर्नेबारे विचार गरिरहेको छ, तर त्यसबारे निर्णय हुन केही समय लाग्ने देखिएको छ।

अनुमोदन

सोमबार ब्रसेल्समा भएको युरोजोनका नेताहरुको बैठकले कर बढाउने र पेन्सनको उमेर बढाउने जस्ता सुधारका कदम चाल्ने प्रस्ताव बुधवारसम्म ग्रीसको संसदले अनुमोदन गरे ऋण संकट हल गर्न सहयोग गर्ने निर्णय गरेको थियो।

संसदमा भएको मतदानका क्रममा ग्रीक प्रधानमन्त्री एलेक्सिस सीप्रासले समर्थन गरेको उक्त प्रस्तावको पक्षमा २ सय २९ र विपक्षमा ६४ मत खसेको थियो।

कतिपय विपक्षी सांसदहरुले समेत उक्त प्रस्तावको पक्षमा भोट हालेका थिए।

विपक्षमा मतदान गर्नेहरुमध्ये ३८ जना सिप्रासको सत्तारुढ सिरिजा पार्टीकै थिए।

उक्त अनुमोदनले युरोजोनका अर्थमन्त्रीहरुलाई ग्रीसलाई झन्डै ८६ अर्ब युरो कर्जा उपलब्ध गराउनेबारे विस्तृत छलफल गर्न बाटो खोलेको छ।

फिनल्याण्डको संसदले कर्जा समाधानसम्बन्धी उक्त निस्कर्षलाई बुधबार अनुमोदन गरेको छ।