बाहुनडाँडादेखि विश्वसम्म

  • 16 जुलाई 2015
Image caption सन् २००० मा नेपालमा स्थापना भएको रुम टु रिडको कार्यक्रम अहिले अन्य १० मुलुकमा फैलिसकेको छ।

बालबालिकाको शिक्षालाई प्रवर्द्धन गर्ने एउटा गैरसरकारी संस्था रुम टु रिडका संस्थापक जन उड यसै हप्ता नेपाल आएका थिए। विश्वविख्यात माइक्रोसफ्ट कम्पनीमा कम उमेरमा नै उच्च ओहदामा पुगेर काम गरेका उडले सन् १९९८ मा नेपालको भ्रमण गरेपछि आफ्नो जीवनको मोड नै परिवर्तन गरे। लमजुङको बाहुनडाँडामा एउटा विद्यालय दयनीय अवस्थामा देखेपछि माइक्रोस्फटको जागीर नै छाडेर उनले सन् २००० मा रुम टु रिडको स्थापना गरे।

उनै जनसँग बीबीसी नेपाली सेवाका फणीन्द्र दाहालले उनको जीवनको प्रेरणा र भावी लक्ष्यबारे अन्तर्वार्ता लिएका थिए। उक्त अन्तर्वार्ताको सम्पादित अंश:

बाहुनडाँडाको गाउँमा तपाइँले के त्यस्तो महसुस गर्नुभयो जसले तपाइँको जिन्दगीको दर्शनमा नै आमूल परिवर्तन ल्याइदियो?

मेरो लागि सन् १९९८ मा नेपालमा गरेको पदयात्रा जीवनको बाटो नै मोड्ने खालको रह्यो किनभने सौभाग्यवश मैले लम्जुङको बाहुनडाँडामा रहेको गाम्रीण विद्यालयको भ्रमण गर्ने निम्तो पाएँ। त्यहाँ ४ सय ५० जना विद्यार्थीहरु पढिरहेका थिए तर त्यहाँको पुस्तकालय पुरै रित्तो थियो। त्यसबारे मैले प्रधानाध्यापकलाई किताब जस्तो आधारभूत कुरा किन नराखेको, तपाइसँग ४ सय ५० विद्यार्थी छन्, तर उनीहरुसँग किन पुस्तक छैन भनेर सोधेँ। त्यसपछि ति प्रधानाध्यपकले जे भने त्यसले मेरो जीवन सधैँका लागि बदलिदियो। उनले नेपालमा गरिबीका कारण शिक्षामा पहुँच पुर्याउन नसकिएको र जबसम्म शिक्षा हुँदैन त्यसबेलासम्म हामीहरु गरिब नै रहिरहनेछौँ भनेँ। कुनै ५ वा ६ वर्षको बच्चालाई तिमीले पढ्न पाउँदैनौं, साक्षर हुन पाउँदैनौ भन्नु पर्ने त्यस्तो निर्मम विडम्बनाले मलाई घोच्यो। ती प्रधानाध्यपकलाई मैले धन्यवाद दिनैपर्छ जसले मलाई जिम्वेवारी दिदैँ भने- सायद कुनै दिन तपाइँ किताब लिएर फेरी आउनुहोला। त्यसले मलाई उत्साहित बनायो किनभने मलाई बच्चैदेखि पढ्न रमाइलो लाग्थ्यो र मैले सोचेँ सानोमा आफूले पाएको जस्तै उपहार बाँहुनडाँडाका ४ सय ५० विद्यार्थीलाई दिने यो अवसर हो। त्यसको एक वर्षपछि ६ वटा खच्चडमा ३ हजार किताब बोकाएर म त्यो गाउँमा पुन: फर्किएँ र त्यहाँ हामीले पहिलो पुस्तकालय बनायौँ। जुन अझै पनि संचालनमा छ।

बाहुनडाँडामा पुस्तकालय बनाएपछि तपाइँले के गर्नुभयो?

त्यसबेलाको भ्रमणमा मेरो बुवा पनि साथमा नै हुनुहुन्थ्यो। त्यो रात हामीसँगै बसेर कुरा गरिरहँदा उहाँले मैले आफ्नो त्यो कामको लागि गौरव गर्नुपर्ने बताउनुभयो। आफूले पनि त्यस्तै महसुस गरेको भन्दै मैले उहाँलाई भनें, “८० करोड निरक्षर मानिसहरु रहेको विश्वमा एउटा पुस्तकालय खोल्नु हात्तीको मुखमा जिरा जस्तै हो।” त्यसबेला नै मलाई अब माइक्रोस्फट छोड्नुपर्छ र जिन्दगीमा केही फरक काम गर्नुपर्छ भन्ने लाग्यो। यदी माइक्रोसफ्टमा नै बसिरहेको भए मलाई खासै फुर्सद हुने थिएन। सायद मैले वर्षमा एउटामात्र पुस्तकालय बनाउन सक्थें हुँला। तर यदी मैले माइक्रोसफ्ट छाडेँ भने मैले मेरो जिन्दगी नै पुस्तकालय र विद्यलयको निर्माणमा लगाउन सक्थेँ। मैले त्यही बेला कुनै दिन म सयौँ नभइ हजारौँ पुस्तकालयहरु खोल्नेछु भन्ने सोचेको थिएँ।

माइक्रोसफ्टको जागीर छाड्न कतिको गाह्रो भयो? त्यही निर्णयका कारण तपाइकी प्रेमिकाले तपाइँलाई छोडिन् भन्ने मैले तपाइँको किताबमा पढेको थिएँ?

(हाँस्दै) हो। त्यसलाई हामीले अलग अलग बाटोमा हिँड्ने निर्णय गर्यौ भन्दा राम्रो हुन्छ होला। तर मलाई लाग्छ माइक्रोसफ्ट छाड्ने निर्णय मेरा लागि निक्कै अप्ठेरो थियो किनभने पश्चिमी विश्वमा तपाइँको हैसियत तपाइँ को हो र के गर्नुहुन्छ भन्ने कुराले निर्धारण गर्छन्। जस्तै तपाइँको भिजिटिङ्ग कार्डमा बीबीसीको पत्रकार उल्लेख भएकै कारण मानिसहरु तपाइँप्रति आकर्षित हुने र कुरा गर्न खोज्ने हुन्छ होला। जब म चीनका लागि माइक्रोसफ्टको व्यापार विकास प्रमुख थिएँ मानिसहरु मसँग कुरा गर्न इच्छुक हुन्थे। तर अकस्मात म उनीहरुले कहिल्यै नाम नसुनेको एउटा एनजीओको संचालक भए। उनीहरुले को जन? रुम टु के रे? मैले तिम्रोबारे कहिल्यै सुनेको छैन जस्ता कुरा भन्न थाले। उक्त निर्णयले तत्कालै मेरो हैसियत र आम्दानी दुबै गुम्यो। तर म त्यसबेला ३५ वर्षको मात्रै थिएँ र म मेरो जोश र सपना त्याग्न चाहन्न थिएँ। त्यही भएर कडा मेहेनत गरे र नेपालमा रहेको रुम टु रिडको जस्तै उत्कृष्ट टोलीलाई काममा राखेर हामीले विश्वको नक्सामा आफूलाई उभ्याउन सफल भएका छौँ। रुम टु रिड अहिले विश्वको एउटा नाम चलेको गैरसरकारी संस्था हो तर एकदमै साधारण किसिमले बाँहुनडाँडाबाट यसको सुरुवात भएको थियो।

अहिलेको रुम टु रिडको अवस्थाबारे केही जानकारी दिनुस् न?

रुम टु रिडको लक्ष्य सुरुमा सन् २०२० सम्म १ करोड बालबालिकासम्म पुग्नु रहेको थियो। गाम्रीण क्षेत्रमा बस्ने असाध्यै गरीब समुदायमा व्याप्त अशिक्षा घटाउनु हाम्रो उच्च प्राथमिकता रहँदै आएको छ। एक करोड विद्यार्थीसम्म पहुँच पुर्याउने लक्ष्य यो वर्ष हामी पुरा गर्दैछौँ। त्यही भएर सन् २०२० सम्म विश्वका डेढ करोड विद्यार्थीसम्म पुग्ने नयाँ लक्ष्य तय गरेका छौँ। र त्यसमा नेपालको भूमिका महत्वपूर्ण रहनेछ। अहिलेसम्म नेपालका २० लाख विद्यार्थीसम्म हामी पुगिसकेका छौँ र एप्रिल महिनाको अन्त्य र मे महिनामा आएको भूकम्पबाट क्षति व्यहोरेका स्थानका विद्यलयको पुनर्निर्माणको काम रुम टु रिडले सरकारसँग मिलेर गर्न लागेको छ।

नेपालमा तपाईंको संस्थाले गरिरहेका गतिविधिबारे थप बताइदिनुस् न?

नेपालमा हाम्रो स्थानीय टोलीप्रति मलाई गर्व छ। नेपालमा मात्रै हामीले ११ सय स्कूल ब्लक बनाएका छौं। छात्रा शिक्षा कार्यक्रम अन्तर्गत हामीले ३ हजार भन्दा धेरै छात्राहरुलाई दीर्घकालीन छात्रवृत्ति दिएका छौं। त्यस्तै हामीले ३ हजार ७ सय पुस्तकालय खोलेका छौं। हाम्रा स्कूल पुस्तकालयमा दुई कक्षाका विद्यार्थीहरु प्रति मिनेट ४० शब्दका दरले पढिरहेका भेटिन्छन्। १६ वर्ष अघि जब म यहाँ पहिलोपल्ट आएँ त्यतिखेर दुई कक्षाका विद्यार्थीले त्यति पढ्न सक्थेनन्। अहिले पढ्न रुचि भएका यस्ता कलिला विद्यार्थी भेटिन्छन्। १ कक्षाका विद्यार्थीले पनि १५ देखि १८ शब्द प्रति मिनेट पढेको देखिन्छ। यसले मलाई आशावादी बनाएको छ। मानव इतिहासले के भन्छ भने सानैदेखि पढ्न बानी लाग्यो भने त्यसले गतिलो शिक्षाको जग बसाउँछ।

तपाईंका जस्तै अन्य कैयौं संस्थाले पनि यहाँको शिक्षालाई मद्दत गरिरहेका छन्। दाताहरुले धेरै पैसा खन्याएका छन्। तैपनि हामीले एसएलसी नतीजालाई हेर्यौं भने सार्वजनिक विद्यालयका केवल २० प्रतिशत मात्र पास हुन्छन्। किन यत्रो लगानीको अपेक्षित प्रभाव नदेखिएको?

रुम टु रिडमा हाम्रो एक मूल विश्वास के छ भने तल्लो तहमा वा पूर्व प्राथमिक तहको पठनपाठनमा धेरै ध्यान दिनु जरुरी हुन्छ। उदाहरणका लागि तपाईं यदी अग्लो भवन बनाउन चाहनुहुन्छ भने जग पनि गहिरो हुनु जरुरी छ। मलाई कलिला विद्यार्थीका निम्ति पठनपाठन त्यस्तै महत्वपूर्ण लाग्छ। यो देशमा र अन्य देशहरुमा पनि यतापट्टि पर्याप्त ध्यान पुगेको छैन। कक्षा १ वा २ मा पढ्ने बालबालिकाका पहुँचमा गुणस्तरीय पाठ्य सामाग्री र प्रशिक्षित शिक्षक हुनुपर्छ। पढ्ने र पढ्ने बानी बस्नु एकदमै आधारभूत विषय हो जस्तो मलाई लाग्छ। रुम टु रिडमा हामीले यस्ता विषयमा निकै ध्यान दिन्छौं। मलाई लाग्छ विश्वले यो विस्तारै बुझ्दैछ। हामी रुम टु रिडले सरकारलाई यो विषय बुझाउने प्रयत्न पनि गर्दै आएका छौं कि यदी सानो उमेरमै साक्षर बनाउन सकिएन भने पछि गएर ती विद्यार्थीले खराब नतिजा ल्याए भने अचम्म मान्नुहुँदैन किनकि उनीहरुको जग बलियो छैन।

बाहुनडाँडामा एउटा पुस्तकालय स्थापना गरेदेखि यता अब तपाईंका कार्यक्रम १० वटा देशमा पुगिसकेको छ। आउने दिनका निम्ति के योजना छ?

नेपालमा जन्म लिएको यो संस्था अहिले फैलिएको छ। नेपालले यसमा गर्व गर्न सक्छ कि उसले यो रुम टु रिड नामक विज्ञता निर्यात गरेको छ अन्यत्र। हामीले रुम टु रिड लाई क्षमता अभिवृद्धि गर्ने एउटा बौद्धिक सम्पत्तिको रुपमा विकास गर्न खोजेका छौँ। यसमा स्थानीय भाषामा प्रकाशन गर्ने अनि छात्राहरुका निम्ति जीवन उपयोगी क्षमताहरुको प्रशिक्षण तथा शिक्षकहरुलाई १ कक्षाका विद्यार्थीलाई पढ्ने बानी बसाउन प्रशिक्षण दिने जस्ता विषय पर्दछन्। त्यसबारे हामीले शिक्षामा लागि परेका ईच्छुक गैरसरकारी संस्थालाई प्रशिक्षण दिँदैछौं।