खसालिएको विमानका यात्रुहरुको संझना

  • 17 जुलाई 2015
तस्वीर कपीराइट Reuters
Image caption एक वर्ष अगाडी युक्रेनमा मलेसियाली विमान खसालिएको थियो

पूर्वी युक्रेन माथि झण्डै तीनसय जनाको ज्यान जाने गरी मलेसिया एअरलाइन्सको विमान खसालिएको एक बर्ष पुरा हुंदा अष्ट्रेलिया र नेदरल्याण्ड्स लगायतका देशहरुमा स्मृति सभाहरु भएका छन्।

अष्ट्रेलियाले उक्त विमान खसाल्ने दोषीहरुलाई कानुनी घेरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

आफ्ना १९३ जना नागरिक गुमाएको नेदरल्याण्ड्समा पनि श्रद्धाञ्जली सभाहरु भएका छन्।

युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोले उक्त विमानलाई रुस समर्थित विद्रोहीहरुले गोली हानी झारेको आरोप लगाउंदै त्यो क्षमायोग्य अपराध नभएको भनेका छन्।

शिलापत्र 

पूर्वी युक्रेनको ह्राबोभ गाउंका वासिन्दाले उक्त क्षेत्रको आकाशबाट खसालिएको मलेसिया एअरलाइन्सको उडान नम्बर एमएच सेभेन्टीन विमानमा सवार झण्डै तीन सयजनाको सम्मानमा श्रद्धाञ्जली सभा गरेका छन्।

झण्डै दुईसय जनाको समूहमा उपस्थित स्थानीयवासीले त्यहांको एउटा चर्चदेखि मृतकहरुको स्मृतिमा स्थापना गरिएको शिलापत्र रहेको स्थानसम्म पदयात्रा गरेका थिए।

हातमा पुष्प गुच्छाहरु बोकेका महिला तथा बालबालिका सहभागी उक्त यात्रालाई सोभियतकालिन सैनिक पोशाक लगाएका पुरुषहरुले सुरक्षा दिएका बताइएको छ।

आँशु

अष्ट्रेलियामा पनि एक वर्ष अघि खसालिएको उक्त विमानका यात्रुहरुप्रति स्मृति कार्यक्रमहरु भएका छन्।

मारिनेहरुमा ३९ जना अष्ट्रेलियाली थिए। समारोह स्थलमा राखिएका ठूला स्क्रीनमा मृतकहरुको तस्वीर देखाईंदा कयौंले आंशु थाम्न सकेका थिएनन्।

राजधानी क्यानबेरामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री टोनी एबटले तिनीहरुलाई देशले सजिलै नभुल्ने बताए।

उनले भने, “उक्त आक्रमणमा ज्यान गुमाएकाहरुले यस्तो अपूरणीय शून्यता छाडेर गएका छन् जुन कहिल्यै भरिने छैन। तिनीहरुसंग विछोड हुनु परेको पीडा अझै आलै छ। त्यस विषयमा जे भनिए पनि जे गरिएपनि तिनीहरुलाई फर्काएर ल्याउन सकिंदैन। तिनीहरुलाई चिन्नेहरुले अझै पनि अनुभव गरिरहेका शोकलाई जे गरेपनि कम पार्न सकिंदैन। तर यो तिनीहरुको मात्रै पीडा होइन, सारा देश नै दु:खी छौं भन्ने तथ्यले शायद शोकमा रहेकाहरुलाई केही ढाढस मिल्न सक्ला।”

युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्को र मलेसिया एअरलाइन्सको उक्त विमानमा सवारहरु सम्बद्ध देशका कूटनीतिज्ञहरु किएभमा आयोजन हुने स्मृति समारोहमा सहभागी हुंदैछन्।

राष्ट्रपति पोरोशेन्कोले भने, “उक्त घटनामा मारिएकाहरुको सम्झनालाई सम्मान गर्नु हाम्रो नैतिक दायित्व हो। उक्त विमान खसाल्नमा जिम्मेवारहरुलाई उपयुक्त सजाय दिएर नै त्यस्तो दायित्व पुरा गर्न सकिन्छ। त्यो अपराध समग्र अन्तर्राष्ट्रिय समुदायमाथि कै खतरा हो। कानुनी व्यवस्था पुनर्स्थापना हुनै पर्छ र आधारभूत मूल्य मान्यताको रक्षा गर्न हामी तयार छौं भनेर देखाइनै पर्छ।”

उनले उक्त हमलाका लागि जिम्मेवारलाई कार्वाही गर्न संयुक्त राष्ट्रसंघलाई आह्वान पनि गरे।

तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस्तो सुझावलाई पहिले नै अस्वीकार गरिसकेका छन्।

अनुसन्धान

सर जेफ्री नाइस क्यू सी, भूतपूर्व युगोस्लाभियाका लागि स्थापित अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्युनलका भूतपूर्व अभियोजन वकिल हुन्।

उनले भने, मलेसिया एअरलाइन्सको एम एच सेभेन्टीन विमानलाई खसालिएको घटनामा एउटा अन्तर्राष्ट्रीय फौजदारी अनुसन्धान हुनु पर्ने बलिया कारणहरु रहेका छन्।

उनले भने, “यो त्यस्तो घटना हो जस्ले विधिसम्मत अन्तर्राष्ट्रिय कानूनी मञ्चको माग गर्दछ। र थुप्रै देशहरुले यो मामिलामा एउटा अन्तर्राष्ट्रीय ट्राइब्युनल स्थापनाका लागि अनुरोध गरेकामा मलाई अचम्म लागेको छैन। तर त्यो राष्ट्रसंघीय सुरक्षा परिषदबाट पारित हुनु पर्छ। समस्या त्यहीं छ- किनकी सुरक्षा परिषदमा रहेको रुससंग त्यस्तो प्रयासमाथि भिटो प्रयोग गर्ने अधिकार प्राप्त छ।”

युक्रेनको आकाशमाथि उडानमा रहंदा खसालिएको मलेसिया एअरलाइन्सको सो एमएच सेभेन्टीन विमान नेदरल्याण्ड्सको एमस्टरडमबाट मलेशियाको कुआलालम्पुर तर्फको उडानमा रहेको थियो।

मस्कोले उक्त विमानलाई युक्रेनी सरकारी सेनाले नै पूर्वी डोनेत्स्क क्षेत्रमा खसाली दिएको भन्ने गरेको छ।

उक्त विमानमा रहेका एकसय ९३ जना डच नागरिकहरुको सम्झनामा नेदरल्याण्ड्समा पनि श्रद्धाञ्जली सभा हुंदैछ।

सो विमान उडेको एम्सटर्डमको स्कीपोल विमानस्थलामा पुष्प गुच्छाहरु राखिएका छन् भने राष्ट्रिय झण्डा आधा झुकाइएको छ।