इराकी हिंसा : दर्जनौं मारिए

  • 18 जुलाई 2015
तस्वीर कपीराइट Reuters
Image caption दियाला प्रान्तका केहि भाग आइएसको नियन्त्रणबाट गत वर्ष सरकारी फौजले फिर्ता लिएको थियो

इराकको व्यस्त बजारमा एउटा बम विष्फोट हुँदा कम्तिमा असी जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्।

कार बम आक्रमण राजधानी बगदादभन्दा करिव २० किलोमिटर उत्तरमा रहेको शिया मुसलमानहरु बहुल दियाला प्रान्तस्थित खान बानी सादको बजार क्षेत्रमा भएको थियो।

प्रान्तीय सरकारले तीन दिने शोक घोषणा गरेको छ।

मुसलमानहरुको पवित्र महिना रमादानको अन्त्यमा उल्लास मनाइरहेका बेला आक्रमण भएको थियो।

जिम्मेवारी

विष्फोटनको शक्तिशाली धक्काले कैयौं भवनहरु भत्किएका छन्।

देशको विभिन्न भागहरु नियन्त्रणमा लिएको इश्लामिक स्टेट समुहले आक्रमणको जिम्मेवारी लिएको छ।

आइएसको विज्ञप्ती अनुसार उनीहरुको समुहका एकजना सदस्य भीडमा तीन टन विस्फोटक पदार्थ सहित गएका थिए।

प्रहरी अधिकारी अहमद अल तमिमिले रोयटर्स सन्चार माध्यमलाई भने- क्षति 'भयावह' छ।

उत्सव रद्द

'कति मान्छेले तरकारी किन्ने बाकसहरुमा बालबालिकाका शरिरका अंगहरु संकलन गर्दैथिए', उनले भने।

प्रत्यक्षदर्शीका अनुसार शवहरु भग्नावशेषबाट अझ पनि झिकिँदैछ।

दियाला प्रान्तका अधिकारीहरुले तीनदिने शोक घोषणा गर्दै इद अल फितर पर्वको उत्सव रद्द गरेका छन्।

आइएसले दियालाका भागहरु गत वर्ष नियन्त्रणमा लिएका थिए।

पछि उनीहरुलाई भगाइए पनि केहि उपस्थिति अझै बाँकी छ।

आइएस लडाकुहरु सरकारी फौजसँग देशको उत्तर र पश्चममा संघर्ष गरिरहेका छन्।