'सीमा क्षेत्रमा बनाइएको सडकका कारण डुबान'

  • 18 जुलाई 2015
डुबान तस्वीर कपीराइट bbc
Image caption भारतीय सडकले बाँधकै रुपमा पानीको निकास रोकेको स्थानीय वासिन्दाहरुको गुनासो छ

भारत सरकारले नेपाल भारत सीमाको दश गजा क्षेत्र नजिकै बनाइ रहेको सडकका कारण नेपाली भूभाग डुबानमा परेपछि दुई देशको सहसचिवस्तरीय बैठक डाक्न लागिएको परराष्ट्र मन्त्रीले बताएका छन्।

यसअघि नेपालबाट बग्ने पानीको निकास दिने भारतीय पक्षले वचन दिए पनि कार्यान्वयन नभएकाले बैठक बोलाउन लागिएको बताइएको छ।

पूर्व देखि पश्चिम सम्मै सीमाक्षेत्रमा समानान्तर ढंगले निर्माण गर्ने उद्देश्यका साथ काम भैरहेको उक्त भारतीय सडकले बाँधकै रुपमा पानीको निकास रोकेको स्थानीय वासिन्दाहरुको गुनासो छ।

बैठक

परराष्ट्र मन्त्रालयसँग भएको कुराकानीमा भारतीय पक्षले पानीको निकासको व्यवस्था मिलाउने वचन दिएको तर हालसम्म पनि निकासको व्यवस्था नगरिएको र डुवान हुने क्रम नरोकिएकाले दुई देशका सहसचिवस्तरीय संयन्त्रको बैठक बोलाउन लागिएको परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले बताए।

उनले भने "हामीले कुरा पनि गरि सकेको तर काम नभएको देखेको हुनाले तुरुन्त सहसचीवस्तरीय बैठक बोलाएर किन खुलेन अव के गर्ने भन्ने कुराको निष्कर्ष खोज्छौं।"

नेपाल भारत सीमामा भारतले बनाएका बाँध र तटबन्धका कारण विगत देखि नै डुबानमा पर्दै आएका नेपाली भूभाग सडक निर्माण पछि थप डुबानमा परेका बताइएको छ।

नेपाल भारत सीमाको दशगजा क्षेत्रकै नजीक पर्ने गरी पूर्वदेखि पश्चिम सम्म निर्माण गर्ने लक्ष्यका साथ काम भैरहेको उक्त सडक ३ मिटर अग्लो र ७ मिटर चौडा रहेको बताइएको छ।

जमीनको सतह भन्दा माथि उठाएर बनाइएका कारण उक्त सडकले नेपालबाट बग्ने खोला नालाहरुको प्राकृतिक बहाव रोकिएको स्थानीय वासिन्दाहरु बताउँछन्।

हाल निर्माण कार्य भैरहेको बाँके जिल्लाको सीमाक्षेत्रका वासिन्दा र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु केही दिन अघि राजधानी आएर प्रधानमन्त्री, गृह मन्त्री र परराष्ट्र मन्त्रीलाई भेटेर बेलैमा समस्याको समाधान गरिदिन आग्रह गरेका थिए।

सरकारको नेतृत्व तह सम्म कुरा पुगे पछि त पानीको निकास खोलिएला भन्ने सोचेका उनीहरु यस वर्ष पनि डुबानमा परेका छन्।

पीाडा

डुबानको पीडा सुनाउदै बाँकेको हिरमिनियाका अशोककुमार मौरेले भने, "पुरखौ पुरखा देखी जति पानी परे पनि बाढी नपस्ने ठाउँमा घर घरमा पानी पसेको छ। सबै बगाइ सक्यो ठूलो क्षति पु-याएको छ।"

सीमाको दशगजा क्षेत्रसँग सटाएर निर्माण कार्य भैरहेको उक्त सडक अन्तर्राष्ट्रिय मान्यता विपरित भएको र त्यसका कारण नेपालको भूभाग डुबानमा पर्ने भन्दै केही महिना अघि पोखरामा भएको दुई देशका सहसचिव स्तरीय बैठकमा नेपाल पक्षले कुरा उठाएको थियो।

यस विषयमा आफ्नो माथिल्लो निकायसँग छलफल गरेर जानकारी गराउने बताएको भारतीय पक्षले हाल सम्म कुनै जानकारी नगराएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले बताए।

हाल डुबानमा पर्न नदिने व्यवस्था गर्न जिल्लास्तरमा पनि प्रयास भै रहेको ढकालले बताए।

उनले भने, "प्रमुख जिल्ला अधिकारीहरुले गएर डुवानले समस्या पारेको छ भनेर कुराकानी गर्नु भएको छ, तर प्रगति देखिएको छैन।"

स्थानीय वासिन्दाहरुले डुबान पछि निर्माणमा संलग्न भारतीय पक्षसँग पानीको बाटो खोलिदिन आग्रह गरे पनि कुनै वास्ता नगरेको बताएका छन्।