अमेरिका-क्युबाबीच नयाँ सम्बन्ध आरम्भ

  • 21 जुलाई 2015
तस्वीर कपीराइट AP
Image caption अमेरिकामा पाँच दशकपछि क्युबाको राजदूतावास खोलिनुका साथै राष्ट्रिय झण्डा फहराइयो

दशकौं लामो शत्रुतापूर्ण सम्बन्ध किराना लगाउँदै क्युबा र अमेरिकाले औपचारिक रुपमा आपसी कुटनीतिक सम्बन्ध पुनर्स्थापना गरेका छन्।

दुबै देशको स्थानीय समय अनुसार मध्यरातपछि एकअर्काको देशस्थिति उनीहरुका कुटनीतिक नियोगहरु दूतावासमा परिणत भएका छन्।

गत वर्षको एउटा सहमति अनुसार ५४ वर्षपछि दुई देशबीच कुटनीतिक सम्बन्ध फेरि सुरु भएको हो।

स्वागत

वासिङ्गट्नमा एक समारोहकाबीच क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजको उपस्थितिमा नयाँ राजदूतावासमा क्युबाको झण्डा फहराईँदा क्युबाको कम्युनिष्ट सरकारका समर्थकहरुले ‘फिडेल, फिडेल’ भन्दै नारा लगाएका थिए।

त्यस्ता समर्थकहरु मध्ये धेरैले अमेरिकाबाट अझै थप काम होस, त्यसमा पनि खासगरी ‘आफूले लादेको व्यापार नाकाबन्दी उसले फिर्ता लेओस’ भन्ने चाहन्छन्।

उनीहरुको चाहनासँग मिल्दो अभिव्यक्ति क्युबाका विदेशमन्त्री रोड्रिगेजको पनि थियो।

उनले भने, “अमेरिकाले आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दी हटाउँदै अधिनस्त ग्वान्टानामो क्षेत्र फिर्ता गरेर क्युबाको सर्बभौंमसत्तालाई सम्मान गरेमा मात्रै हामीले प्रत्यक्ष हेरिरहेको यो ऐतिहासिक दिनले महत्व राख्नेछ।”

अमेरिकाले हवानामा आफ्नो दूतावास खुलेपछि क्युबासँग नयाँ सम्बन्धको सुरुवात भएको भन्दै स्वागत गरेको छ।

संकेत

वासिङ्गट्नमा आफ्ना क्युबाली समकक्षीका साथ पत्रकारहरुसमक्ष बोल्दै अमेरिकी विदेशमन्त्री जोन केरीले भूतकालमा बाँचिरहनु निरर्थक हुने बताए।

तर थुप्रै मतभेदहरु बाँकी रहेको स्वीकार गर्दै सम्बन्धलाई पुरै सहज बनाउने प्रक्रिया लामो र जटिल भएको उनले उल्लेख गरे।

उनले भने, “निश्चित रुपमा यो कोशेढुंगाले हाम्रा सरकारबीच रहेका मतभेदहरु हटिसकेको संकेत गर्दैन। तर यस्ले हामीबीचको शीतयुद्ध अन्त्य भइसकेको संकेत गर्छ। अब दुबै देशका चासोको समाधान आपसी कटुता र वैमनस्यताबाट नभई सहकार्यबाट हुन सक्छ।”

अमेरिकी विदेशमन्त्री जोन केरीले १४ अगस्तमा क्युबामा त्यस्तै किसिमको समारोहमा भाग लिने छन्।

अप्रसन्न

त्यही कार्यक्रमका माझ हवानास्थित अमेरिकी राजदूतावासमा उसको राष्ट्रिय झण्डा फहराइने छ।

तर दुईदेशबीचको नयाँ सम्बन्धलाई लिएर सबैजना खुशी देखिन्न्।

बीबीसीका सम्वाददाता अलीम मकबुल भन्छन्, “केही क्युबाली अमेरिकी नागरिकहरुले त्यसको विरोधमा भाग लिएका थिए।”

उनीहरुले अमेरिकी सरकारले समाज र आफ्ना विरोधीहरुप्रति कडा व्यवहार गर्ने क्युबाको सरकारप्रति लचिलो व्यवहार देखाएको भन्दै असन्तुष्टी जनाएका छन्।