ग्रीसः संसदद्वारा सुधारका कदमहरु अनुमोदित

  • 23 जुलाई 2015
तस्वीर कपीराइट Reuters
Image caption प्रधानमन्त्री एलेक्सिस सीप्रासले सुधारका कदमप्रति समर्थन जनाउन आग्रह गरेका थिए

अन्तर्राष्ट्रिय ऋण सहायता प्राप्त गर्नका निम्ति दोस्रो चरणमा सुधार गर्नुपर्ने कदमहरुलाई अनुमोदन गरेको छ।

योसँगै ग्रीसले ८६ अर्ब युरो ऋण सहायताका लागि वार्ता गर्न पाउने भएको छ।

सुधारका कमदबारे संसदमा छलफल भइरहँदा आर्थिक मितव्ययीताका लागि चालिने थप कदमहरुविरुद्ध हजारौं मानिसले प्रदर्शन गरेका थिए।

संसदबाहिरको प्रदर्शन हिंसात्मक बनेको थियो, जहाँ प्रदर्शनकारीहरुले प्रहरीमाथि पेट्रोल बम र ढुंगा प्रहार गरेका थिए।

आपतकालीन

यसअघि ग्रीक प्रधानमन्त्री एलेक्सिस सीप्रासले आफ्नै दल सिरिजा पार्टीका असन्तुष्ट नेताहरुलाई ऋणदाताहरुले माग गरेअनुसार सुधारको पक्षमा मतदान गर्न आग्रह गरेका थिए।

यसैबीच, युरोपेली केन्द्रीय बैंकले ग्रीक बैंकहरुका निम्ति नगदको सीमा बढाइदिएको छ।

एक साताभित्रै उक्त बैंकले आपतकालीन सहायतास्वरुप दोस्रोपटक थप ९० करोड युरो उपलब्ध गराएको छ।

ग्रीक संसदमा मतदान हुनु केही घण्टाअघि उसले सो रकम दिएको थियो।

दबाब

सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारीहरुको संगठनले राजधानी एथेन्सको एउटा चोकमा गरेको प्रदर्शन, एकजनाले प्रहरीमाथि पेट्रोल बम प्रहार गर्नुअघिसम्म शान्तिपूर्ण थियो।

घटनास्थलबाट बीबीसीका पिएर्स स्कोलफिल्डले उच्छृंखल मानिसहरुको एउटा सानो समूहले अवरोध श्रृजना गर्न खोजेपनि तत्कालै स्थिति सामान्य बनेको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

सुधार योजनाको विपक्षमा गत साता मतदान गरेका सत्तारुढ सिरिजा पार्टीकै असन्तुष्ट सांसदहरुमाथि प्रधानमन्त्री सीप्रासले दबाब दिएका थिए।

सीप्रासले “आफ्नो हस्ताक्षरको सुरक्षामुनि ती सांसदहरु लुकिरहेको” आरोप लगाए।