'टर्कीको भूमि प्रयोग गर्न पाउने'

  • 24 जुलाई 2015
टर्कीका प्रधानमन्त्री तस्वीर कपीराइट AFP
Image caption डाभुटोग्लुले टर्कीले सिरियास्थित इस्लामिक स्टेटका ठेगानाहरुमा हवाइ हमला गरेको बताए

टर्कीका राष्ट्रपति रिचेप ताइप एर्दोआनले इस्लामिक स्टेट उग्रवादीहरु विरुद्ध आक्रमणहरु गर्न देशको दक्षिणमा रहेको एउटा सैनिक अखडा अमेरिकी लडाकु विमानहरुलाई प्रयोग गर्न दिने विवरणहरुको पुष्टि गरेका छन्।

तर त्यस्तो व्यवस्था निश्चित शर्तहरु अन्तर्गत संचालन हुने उनको भनाइ छ।

टर्कीको सरकारले सिरियामा रहेका इस्लामिक स्टेट उग्रवादीहरु विरुद्ध हवाइ हमलाहरु गरेपछि तिनीहरु विरुद्धको कार्वाही जारी नै राख्‍ने प्रतिबद्धता जनाएको छ।

प्रधानमन्त्री अहमत डाभुटोग्लुले टर्कीले इस्लामिक स्टेटका ठेगानाहरुमा गरेको हवाइ हमलाका निशानाहरु पूर्णत: नष्ट भएको बताए।

निशाना

टर्कीको एफ सिक्सटिन लडाकु जेट विमानहरुले सिरियामा रहेका इस्लामिक स्टेटका तीनवटा ठेगानालाई निशाना बनाएका थिए।

आइएसले सन् २०१३ देखि इराक र सिरियाका विभिन्न स्थानलाई नियन्त्रणमा लिन आरम्भ गरे यता टर्कीले सिरियाली सीमा भित्र हवाइ हमला गरिएको भनेर पुष्टि गरेको यो पहिलो पटक हो।

टर्कीको सरकारी टेलिभिजनले भनेको छ, टर्कीको सीमावर्ती नगर किलिस पारी अवस्थित सिरियाली गाउं हभारमा आक्रमण गर्दा ती लडाकु जेट विमानहरुले सिरियाली हवाइ क्षेत्रमा अतिक्रमण गरेका थिएनन्।

प्रधानमन्त्री डाभुटोग्लुका अनुसार आवश्यक परेको खण्डमा टर्की सीमापारी सिरियामा स्थल सैन्य पठाउन समेत तयार रहेको छ।

टर्कीको सीमावर्ती हवाइ अखाडा प्रयोग गर्ने सहमति भएपछि संयुक्त राज्य अमेरिकाले इस्लामिक स्टेट विरुद्धको हवाइ हमलामा तीव्रता ल्याउने अनुमान गरिएको छ।

सहमति

बुधबार अमेरिकी राष्ट्रपति बराक ओबामा र टर्कीका राष्ट्रपति एर्दोआनबीच भएको टेलिफोन वार्ताका क्रममा हवाइ अखाडा प्रयोग गर्न दिने विषयमा सहमति भएको थियो।

बिहीबार इस्लामिक स्टेट लडाकुहरु र टर्कीका सेनाबीच सिरियाली सिमाना नजीक गोली हानाहान हुंदा एकजना टर्कीश सैनिक मारिएका थिए।

शुक्रबार टर्कीका प्रहरीले इस्लामिक स्टेट तथा कुर्द उग्रवादीहरु विरुद्ध गरेको कार्वाहीका क्रममा २९७ जना गिरफ्तार भएका थिए।

बीबीसीका कूटनीतिक तथा प्रतिरक्षा सम्वाददाता जोनाथन मार्कस भन्छन्, टर्कीले इस्लामिक स्टेट विरुद्धको आफ्नो पहिलेको नीति परित्याग गरेर उक्त समूह विरुद्ध हवाइ हमला तथा गोलाबारी गर्न र देशभित्रै तिनका समर्थकहरुलाई पक्राउ गर्ने गतिविधि तीव्र पारेको देखिएको छ।