'साउन ३२ सम्म संविधान जारी गर्न सकिने'

  • 25 जुलाई 2015
तस्वीर कपीराइट bbc
Image caption असन्तुष्ट दल तथा जनताको सुझावबारे कुरा गर्न अध्यक्षले दलहरुलाई भनेका छन्

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले साउन मसान्त सम्ममा संविधान जारी गर्न सकिने चार दलका शीर्ष नेताहरुलाई शनिबार जानकारी दिएका छन्।

संविधान निर्माणको नयाँ कार्यतालिका बारे छलफल गर्न सभाध्यक्ष नेम्वाङलाई भेट्न गएका दलका नेताहरुलाई प्रक्रिया केही छोट्याउँदा पनि साउन ३२ गते सम्म मात्रै संविधान जारी गर्न सकिने उनले बताएका छन्।

आफुलाई भेट्न आएका नेताहरुलाई अध्यक्ष नेम्वाङ्गले असन्तुष्ट दलका माग अनि जनता बाट आएका सुझावलाई समेत समावेश गर्न आग्रह गरे लगत्तै शनिबार साँझ चार दलका शीर्ष नेताहरुको बैठक बसेको थियो।

मिति

संविधानको मस्यौदामा जनताले दिएका सुझाव सहितको प्रतिवेदन तयार पार्न नागरिक सम्वन्ध समिति व्यस्त रहँदा, १६ बुँदे सहमति गरेका दलहरु संविधान जारी गर्ने तिथि मिति तय गर्न लागिपरेका छन्।

त्यसै मेसोमा नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेताहरुले संविधानको नयाँ कार्यतालिका निर्माणको आग्रह गर्न शनिबार नेम्वाङलाई भेट्न गए।

उक्त भेटघाटमा दलका नेताहरुलाई केही प्रक्रियालाई छोट्याएर साउन मसान्त सम्म संविधान जारी गर्न सकिने आफुले प्रस्ताव गरेको र उनीहरुले त्यसमा सहमति जनाएको नेम्वाङले बताए।

उनले भने, "सबै प्रक्रिया यथावत कायम राख्ने तर अलिकति छोट्याएर साउन मसान्त सम्म संविधान जारी गरौं भनेर मैले भनें। वहाँहरुले ठिक छ त्यसमा हाम्रो सहमति छ, हामीले गर्नु पर्ने सबै काम गर्छौ भन्नुभयो।"

छलफल

संविधान निर्माणको प्रक्रिया अन्तर्गत कुन कुन शीर्षकमा समय छोट्याउन सकिन्छ भनेर समेत नेताहरुलाई जानकारी गराएको उनले बताए।

संवाद समितिमा अन्य दलहरुले बुझाएका फरक प्रस्तावहरु रहेको र कार्यतालिका बमोजिम नै ती विषयमा छलफल गर्दा संविधान जारी गर्ने मिति ढिला हुने भन्दै अन्य दलहरुसँगको छलफल लाई अहिले देखि नै थाल्न आफुले आग्रह गरेको नेम्वाङले बताए।

"अब संवाद समितिमै पुगेपछि मात्र काम गर्दा ढिलो हुन सक्‍छ, त्यसैले त्यो काम आजै देखि गर्न शुरु गर्नुहोस भनेर मैले आग्रह गरें। वहाँहरुले त्यसलाई सकारात्मक रुपमा लिनु भयो।"

सबैलाई समावेश गर्न प्रयास थाल्ने बचन सभाध्यक्ष नेम्वाङलाई दिएका नेताहरु शनिबारै देखि छलफलमा जुटेका छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारमाझ साँझ बालुवाटारमा बैठक बसेको छ।

सो बैठकमा जनताबाट आएका सुझावलाई कसरी समावेश गर्ने र अन्य दलहरुका प्रस्तावमा के गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको बताइएको छ। आईतबारदेखि जनताको सुझावबारे बुँदागत छलफल गर्ने सो बैठकले निर्णय गरेको बताइएको छ।