‘अफ्रिका विश्वकै आर्थिक वृद्धिको केन्द्र हुनुपर्छ’

  • 25 जुलाई 2015
Image caption पूर्वी अफ्रिकाको भ्रमणका क्रममा ओबामा केन्या पुगेका छन्

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो पूर्वी अफ्रीका भ्रमणको पहिलो पूर्ण दिनमा उद्योगी व्यवसायीहरुलाई आह्वान गर्दै, अफ्रीकी महादेशलाई आफ्नो पूर्ण क्षमताको सदुपयोग गर्न सघाउन आग्रह गरेका छन्।

नैरोबीमा एउटा ब्यापार बैठकको उद्घाटन गर्दै राष्ट्रपति ओबामाले भने, केन्याले उदाउंदो प्रविधि व्यवसायको माध्यमबाट अगुवाई गरिरहेको छ।

तर उनले सरकारहरुलाई भ्रष्टाचार विरुद्ध लड्न र पारदर्शीतालाई प्रोत्साहन गर्न आग्रह पनि गरे।

उद्यमशीलता

केन्याको राजधानी नैरोबीमा एक व्यापारिक सम्मेलनको उदघाटन गर्दै राष्ट्रपति ओबामाले केन्यालीहरुलाई उद्यमशीलता अपनाउन आव्हान गरे।

उद्यमशीलता सम्पन्नतासंग जोडिएको उनले बताए।

उनले अफ्रिकी महादेश अन्तर्राष्ट्रिय आर्थिक वृद्धिको केन्द्रमा रहन आवश्यक भएको बताए।

उनले भने, “म यहाँ आउन चाहें किनभने अफ्रिका लम्किरहेको छ। अफ्रिका विश्वभरमै सबभन्दा तीव्र दरले आर्थिक वृद्धि गरिरहेको क्षेत्र मध्ये हो। मानिसहरु गरीबीबाट बाहिर निस्कंदैछन्। आम्दानी बढेको छ। मध्यम वर्ग फैलिंदो छ। अनि युवा ले प्रविधिको उपयोगमार्फत अफ्रिकाले गर्दै आएको व्यापार शैली बदलिदिएका छन्। त्यसले अफ्रिकीहरु मात्रै नभइ सारा संसारका सामु थुप्रै अवसर सिर्जना गरेको छ। यो महादेश अफ्रिकाको मात्रै नभइ पूरै विश्वको निम्ति आर्थिक वृद्धिको केन्द्रविन्दु बन्नु आवश्यक छ।”

आफ्नो पिताको पुर्खेली थलो केन्याको भ्रमण ओबामाले शुक्रबार शुरु गरे।

केन्याली सञ्चारमाध्यमले उक्त भ्रमणलाई पुर्खेली थलोमा ओबामाको आगमनको रुपमा चित्रण गरेका छन्।

विमानस्थलबाट उनको गाडीका लश्कर निस्केको स्थलहरुमा विशाल भींडले उनलाई स्वागत गरेको थियो।

आफुले दश वर्ष अगाडी भ्रमण गरे यता केन्याले धेरै प्रगति गरेको ओबामाले बताए।

सन्देश

राष्ट्रपति ओबामाले सन् १९९८ मा त्यहां स्थित अमेरिकी दूतावासमा भएको बम हमलामा मारिएकाहरुको सम्झनामा पुष्प गुच्छा अर्पण गरेका थिए।

अल कायदा विद्रोहीहरुले गरेको ठानिएको उक्त हमलामा १२ अमेरिकी सहित २०० जनाको ज्यान गएको थियो। त्यही समय ताञ्जानियाको दार ए सलामस्थित अमेरिकी दूतावासमा गरिएको बम हमलामा ११ जना मारिएका थिए।

यसपालीको उनको भ्रमणको मुख्य उद्देश्य व्यापार र सुरक्षा रहेको भएपनि ओबामाले आफुले अफ्रिकी नेताहरुलाई त्यहाँको समलैंगिक अधिकार तथा विभेदको अवस्थाबारे प्रष्ट सन्देश दिने बताएका छन्।

उनको भ्रमणमा सुरक्षा बन्दोबस्त निकै कडा तुल्याइएको छ। नैरोबीमा १० हजार प्रहरी खटाइएको छ।

मुख्य सडकहरु बन्द गरिएका छन् भने आकाशमा अमेरिकी सैनिकका जहाजहरुले हवाई गस्ती गरेका छन्।