कोही पनि आजन्म राष्ट्रपति बन्नु हुन्न: ओबामा

  • 28 जुलाई 2015
तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफ्रीकी नेताहरुले आफ्नो अवधि समाप्त भईसक्दा पनि पद छाड्न अस्वीकार गरुञ्जेल अफ्रीकाले प्रगति गर्न नसक्ने भनी सचेत गराएका छन्।

उनले भ्रष्टाचारको क्यान्सर भन्दै त्यसको अन्त्यका लागि पनि आह्वान गरे।

अफ्रीकी नेताहरुले तिनीहरुको देशको संविधानहरुलाई सम्मान गर्नु पर्ने र आफ्नो अवधि समाप्त भएपछि पद छाड्नु पर्नेमा उनको जोड रहेको थियो।

उदाहरण

बुरुण्डीमा त्यहांका राष्ट्रपतिले संविधानको व्यवस्था विपरित तेस्रो कार्यकाल पनि पदमा कायम रहन खोज्दा देशमा हिंसा र अस्थीरता फैलिएको उदाहरण बाराक ओबामाले प्रस्तुत गरेका थिए।

"कोही पनि आजन्म राष्ट्रपति बनिरहनु हुंदैन", ओबामाको भनाई थियो।

पत्रकारहरुलाई यदि जेल हालिन्छ र अधिकारकर्मीहरुलाई डरधम्की देखाइन्छ भने त्यस्तो देशमा प्रजातन्त्र खाली अक्षरमा मात्र कायम रहन सक्ने ओबामाले बताए।

भ्रष्टाचारका कारण अफ्रीकाबाट अर्बौं डलर चुहिएर गैरहेको भन्दै त्यस्तो पैसा विद्यालय र अस्पतालहरु बनाउन प्रयोग हुन सक्थ्यो भन्ने पनि उनको भनाई थियो।

तस्वीर कपीराइट epa

बेरोजगारी

केहि दशकमा नै दोब्बर हुन सक्ने अफ्रीकी महादेशको जनसंख्यालाई विचार गर्दै बेरोजगारीको समस्यालाई तत्काल सम्बोधन गर्नु पर्ने पनि उनले बताएका छन्।

आफ्नो पांचदिने अफ्रीका भ्रमणको अन्त्यमा, इथियोपीयाको राजधानी आदीस अबाबामा रहेको अफ्रीकी संघको मूख्यालयमा ५४ सदस्यहरुलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपतिले सो कुरा बताएका हुन्।

उनले इथियोपीया पुग्नु अघि केन्याको भ्रमण गरेका थिए ।