‘करिब सात हजार परिवार सुरक्षित स्थानमा’

  • 28 जुलाई 2015
सिन्धुपाल्चोक
Image caption सरकारले वर्षापछि मात्रै जोखिमपूर्ण भनिएका बस्तीलाई स्थायी रुपमा कहाँ सार्ने भन्नेबारेमा छलफल गरिने बताएको छ

भूकम्पपछि पहिरोको जोखिममा रहेका १९ हजार मध्ये करिव ७ हजार परिवारलाई सुरक्षित स्थानमा सारिएको गृह मन्त्रालयले जनाएको छ।

जोखिममा रहेका भनेर पहिचान भएकामध्ये बाँकीलाई सार्ने काम भइरहेको तर केही परिवारले सरकारले तोकेका स्थानमा जान नचाहेको अधिकारीहरुले बताएका छन्।

बस्ती सार्नुपर्ने भन्ने सिफारिस गरिएका २ जिल्लामा स्थानियले सरकारले उपलब्ध गराएको विकल्प अस्वीकार गरेको बताइएको छ।

वैशाख १२ र २९ गते गएको भूकम्पपछि धेरै पहाडी क्षेत्रका मानिसहरुले आफू बसिरहेको स्थान जोखिममा रहेको भन्दै सुरक्षित स्थानमा सारिदिन सरकारसँग माग गरेका थिए।

जोखिम

त्यही मागलाई संबोधन गर्न सरकारले ती बस्तीहरु के कस्ता जोखिममा रहेका छन् भनेर अध्यन गर्न विज्ञ टोली पठाएको थियो।

उक्त टोलीको सिफारिस बमोजिम पहिरोको जोखिममा रहेका भनिएका मध्य झण्डै ७ हजार परिवारलाई सार्ने काम भइसकेको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले बताए।

उनले भने "१५ जिल्लाका यो काम भइसकेको छ सोमबारसम्म ६ हजार ८ सय ४८ परिवारलाई सुरक्षित स्थानमा सारी सकेका छौं।"

१८ वटा जिल्लाका १९ हजार परिवारलाई सुरक्षित स्थानमा सार्न विज्ञ टोलीले सिफारिस गरेकोमा सिन्धुलीमा सर्नुपर्ने परिवारले सरकारले तोकेको स्थानमा जान नमानेको र मकवानपुरमा राजमार्ग क्षेत्रमा सारिएमात्र जाने भनेकाले बस्ती स्थानानतरण गर्न नसकिएको सरकारी भनाई छ।

खोटाङमा तत्कालै बस्ती सार्नुपर्ने अवस्था नदेखीएको बताइएको छ।

यी बाहेक अन्य १५ जिल्लामा बाँकी रहेका परिवारलाई सार्नै काम भइरहेको बताइएको छ।

अस्थायी

नयाँ स्थानमा अस्थायी रुपमा राखिएका परिवारलाई त्यही नै अति आवश्यकीय सेवाहरु उपलब्ध गराउने काम पनि भइरहेको गृह प्रवक्ता ढकालले बताए।

उनले भने "उनीहरुका लागि खाना, बस्ने ठाँउ, बसेका ठाँउहरुमा जाने बाटो, पानी र विद्युत पुर्याउने काम सम्बन्धित मन्त्रालयले नै गरिरहेका छन्।"

अधिकांश भूकम्प पीडितहरुले अस्थायी रुपमा बस्ती सार्दा आफूहरुलाई निक्कै झन्झट हुने भन्दै स्थायी रुपमै स्थानानतरण गर्नुपर्ने माग गरिरहेका छन्।

सरकारले चाहिँ वर्षायाम सकिएपछि मात्रै जोखिमपूर्ण भनिएका बस्तीलाई स्थायी रुपमा कहाँ सार्ने भन्नेबारेमा छलफल गरिने बताएको छ।