तालिबान नेता ओमारको ‘निधन भइसक्यो’

  • 29 जुलाई 2015

अफगानीस्तानमा सरकारी सूत्रहरुले बीबीसीलाई तालिबान विद्रोही समूहका प्रमुख नेता मुल्लाह ओमारको निधन भइसकेको बताएका छन् तर सो समूहले अझै त्यस्तो समाचारबारे आधिकारिक टिप्पणी गरेको छैन।

महिनौंदेखि मुल्लाह ओमारको अवस्थाबारे हल्ला चलेका थिए।

ती हल्लाकै माझ अफगान सरकारले ती समूहसंग शान्तिवार्ता गर्न ठोस प्रयास थालेको थियो।

केही खबरहरुका अनुसार भने ओमारको निधन भएको केही वर्ष वितिसकेको छ।

सार्वजनिकरुपमा खासै नदेखिने गरेका ओमारको निधन दुई देखि तीन वर्ष पहिले भइसकेको अफगान सरकार तथा गुप्तचर स्रोतहरुले जनाएका छन्। थप विवरण प्राप्त भएका छैनन्।

बीबीसीले सम्पर्क गरेको एक तालिबान प्रवक्ताका अनुसार उनीहरुले चाँडै विज्ञप्ति जारी गर्नेछन्।

विगतमा पनि मुल्ला ओमारको निधन भएका अपुष्ट खबरहरु थुप्रै आउने गर्थे। तर यसपटक पहिलोचोटि अफगान सरकारका उच्च स्रोतले त्यसको पुष्टी गरेका छन्।