‘दुई वर्षअघि मुल्लाह ओमरको मृत्यु’

  • 30 जुलाई 2015
तस्वीर कपीराइट AP
Image caption अफगान राष्ट्रपतिको कार्यालयले मुल्लाह ओमरको मृत्यु दुई वर्ष अघि नै भैसकेको पुष्टि गरेको छ

बीबीसीसंग कुरा गर्दै अफगानिस्तानको गुप्तचर निकायले दुई वर्ष अघि नै तालिबान नेता मुल्लाह ओमरको पाकिस्तानमा मृत्यु भएको पुष्टि गरेको छ।

अफगानिस्तानको गुप्तचर निकायका एकजना प्रवक्ता हसीब सदिकीले पाकिस्तानको एक अस्पतालमा उपचार गराइरहेका मुल्लाह ओमरको दुई वर्ष अघि नै मृत्यु भएको पुष्टि गरे।

तर उनको निधनको खबरलाई यति लामो अवधिसम्म किन लुकाएर राखियो भन्नेबारे उनले केही बताएनन्।

तालिबान तथा पाकिस्तान सरकारले यसबारे आफ्नो आधिकारिक भनाइ अझै सार्वजनिक गरेका छैनन्।

कुराकानी

यद्यपि तालिबान सूत्रहरुले बीबीसीलाई भने, केही समयदेखि नै मुल्लाह ओमरको उत्तराधिकारी छान्नेबारे सो संगठन भित्र कुराकानी भैरहेको थियो।

यसअघि अफगान सरकारले, तालेवानका लुकिछिपी हिंड्ने नेता मुल्लाह ओमारको मृत्यु भएको भन्ने समाचारको अनुसन्धान भैरहेको बताएको थियो।

तर उनको मृत्यु भएको भन्ने खबर विगतमा बारम्बार आउने गरेपनि उच्च पदस्थ सूत्रहरुले त्यस्तो खबरलाई पुष्टि गरेको भने यो पहिलो पटक हो।

भूमिगत

मुल्लाह ओमार सन् १९९० को दशकमा अफगानिस्तानमा भएको भद्रगोलपूर्ण गृह युद्धको बीचमा पहिलो पल्ट तालेवानको उदय भएको बेला देखि नै त्यसको नेता रहेका थिए।

उक्त समूहले तीव्र गतिमा आफ्नो शक्तिलाई बढाएर महत्वपूर्ण शहरहरुलाई नियन्त्रणमा लियो र सन् १९९६ मा राजधानी काबुलमा प्रवेश गरेको थियो।

त्यसपछि अफगानिस्तानलाई कट्टरपन्थी इस्लामवादी राज्यमा परिणत गरियो जसले अलकायदालाई आश्रय पनि दियो।

सन् २००१ मा अमेरिकी नेतृत्वको आतंकवाद विरोधी युद्ध शुरु हुंदा मुल्लाह ओमार र अन्य वरिष्ठ नेताहरु काबुल छाडेर भाग्न वाध्य भए।

जवाफमा तालेवान लडाकुहरुले सशस्त्र विद्रोह शुरु गरे र विदेशी तथा अफगान सैन्यहरुका साथै गैरसैनिकहरुमाथि पनि हमला गर्न थाले।

त्यसबेला देखि नै मुल्लाह ओमार लुकेर बसीरहेका थिए।

अमेरिकी विदेश मन्त्रालयले उनको टाउकोको मूल्य एक करोड डलर तोकेको छ।

अन्यौल

हालैका वर्षहरुमा मुल्लाह ओमारका बारे निकै थोरै मात्र जानकारीहरु बाहिर आएका थिए।

बीबीसीका भूतपूर्व काबुल सम्बाददाता डेविड लोइन भन्छन्, मुल्लाह ओमार जीवितै छन् भन्ने प्रमाणीत हुन नसकेको कारणले गर्दा नै तालेवानका कतिपय वरिष्ठ कमाण्डरहरु इस्लामिक स्टेट समूहमा प्रवेश गरेका थिए।

केहि दिन भित्रै अफगान सरकार र तालेवानबीच दोस्रो चरणको शान्ति वार्ता हुंदैछ।

त्यस्तो शान्ति वार्ताको आतिथेय गरिरहेको पाकिस्तानका एकजना सुरक्षा अधिकारीले एशोसियटेड प्रेस समाचार एजेन्सीसंग कुरा गर्दै मुल्लाह ओमारको मृत्युको दावी खाली अनुमान मात्र भएको भन्दै त्यो जारी वार्तालाई प्रभावित तुल्याउने उद्देश्यले फैलाइएको हल्ला भनेका छन्।