भारत बांग्लादेशबीच मध्यरातमा भूभाग साटासाट

  • 1 अगस्ट 2015
Image caption भारत र बंगलादेशबीच साटासाट भएका इलाकाका बासिन्दाले शिक्षा लगायतका आधारभुत सुविधामा अफ्ठेरो भोग्दै आएका थिए

भारत र बांगलादेशले आआफ्ना सीमानाले घेरिएका एक अर्काका १६० जति ससाना भूभाग आपसमा साटासाट गरेका छन्।

१८ औं शताब्दीमा स्थानीय तहमा गरिएको शान्ति सम्झौता अनुसार करिव ५० हजार मानिसहरुको बसोबास भएका ती इलाका बनाइएका थिए।

दुई देशबीच भएको सम्झौता अनुसार वितेको मध्यरातदेखि एक अर्काको भागमा नयाँ झण्डाहरु फहराइएका छन्।

त्यहाँका बासिन्दाहरुलाई उनीहरु कहाँ बस्न र कुन राष्ट्रियता रोज्न चाहन्छन्, छान्न आग्रह गरिएको थियो।

परिवर्तन

बांग्लादेशभित्र पर्ने १सय११ र भारतीय सीमानाभित्रका ५१ वटा त्यस्ता इलाकाका अधिकांश मानिसहरु उनीहरु जहाँ छन् त्यहीं बस्ने छन् बरु उनीहरुले राष्ट्रियता परिवर्तन गर्ने छन्।

बीबीसीका संजय मजुमदार भन्छन् सन् १९४७ मा भारतको बिभाजनपछि, एउटा देशको नागरिक बस्ने तर अर्कै देशको भूभागले घेरिएका ती इलाकाका नागरिक जो जहाँ थिए त्यहीँ रहे।

करिव ६ दशकसम्म उनीहरुलाई राज्यविहीनहरुको रुपमा व्यवहार गरिँदै आएको थियो।

तर भारत र बांग्लादेशबीचको सहमतिका कारण अन्तत: उनीहरुले अब वास्ताविक पहिचान पाउने छन्।

उनीहरुले शिक्षा लगायतका आधारभूत सुविधा पाउन निकै अप्ठेरो व्यहोर्दै आएका थिए।

पुन:स्थापना

समाचार संस्था एएफपीले जनाए अनुसार बांग्लादेशभित्र पर्ने भारतीय भूभागमा बसोबास गर्ने अधिकांश मानिसले बांग्लादेशी नागरिकता छानेका छन्।

तर करिव १ हजारले आफ्नो भारतीय राष्ट्रियता कायमै राख्ने छनौट गरेका छन्।

त्यसको अर्थ उनीहरुले नोभेम्बर महिनाबाट आफ्नो घर छाड्ने छन् र भारतीय राज्य पश्चिम बंगालमा पुन:स्थापित हुनेछन्।

भारतमा बांग्लादेशी इलाकामा बसिरहेका र अब भारतको हुने ५१ वटै इलाकाका मानिसहरुले भने राष्ट्रियता फेर्ने निर्णय गरेका छन्।

ती इलाकाको विघट्नका निम्ति बांग्लादेशले सन् १९७४ मै भारतसँगको सम्झौता अनुमोदन गरेको थियो।

तर भारतले जुन महिनामा भएको प्रधानमन्त्री नरेन्द्र मोदीको ढाका भ्रमणका क्रममा मात्र अन्तिम सम्झौतामा हस्ताक्षर गरेको थियो।