शान्ति वार्ताबारे अनिश्चय

  • 1 अगस्ट 2015
मुल्लाह ओमर तस्वीर कपीराइट AP
Image caption मुल्लाह ओमरको मृत्युपछि तालिबान टुक्रन सक्ने संभावना रहेको बताइएको छ

अफगानिस्तानस्थित तालिबान अफगान सरकारसंग शान्तिवार्ता जारी राख्‍न बाट पछि हटेजस्तो देखिन्छ।

तालिबानको नयाँ नेता नियुक्त भएयताको आफ्नो पहिलो सन्देशमा मुल्लाह अख्तर मन्सुरले शान्त‌ि वार्ताको कुरा शत्रुको प्रचार अभियान भएको बताउँदै तालिबानले जिहाद जारी राख्‍ने जनाए।

तालिबान नेता मुल्लाह ओमारको दुई बर्षअघि नै पाकिस्तानमा मृत्यु भएको खबर प्रकाशमा आएपछि तालिबानले उनलाई नयाँ नेता चयन गरेको बताइएको थियो।

रेकर्ड गरिएको आफ्नो सन्देशमा मुल्लाह मन्सुरले तालिबान भित्रको आन्तरिक विभाजनले शत्रुलाई मात्र मदत पुग्ने भन्दै आफ्ना सबै लडाकुहरुलाई एकतावद्ध हुन आह्वान गरेका थिए।

उनले अफगानिस्तानमा इस्लामिक शासन कायम नहुँदासम्म आफुहरुको जिहाद अर्थात् धर्मयुद्ध जारी नै रहने पनि बताए।

नयाँ नेता

केही तालिबान सूत्रहरुले संगठन भित्रका पाकिस्तान समर्थक तत्वहरुले मुल्लाह मन्सुरलाई नयाँ नेताको रुपमा थोपरेको बताएका छन्।

मन्सुरले यस अघि अफगान सरकारका प्रतिनिधि तथा तालिबान नेताहरुबीच गत महिना पाकिस्तानमा भएको वार्तालाई समर्थन गरेको ठानिएको थियो।

तर आफ्नो वक्तव्यमा उनले उक्त शान्तिवार्तालाई शत्रुको प्रचार अभियान भन्दै त्यसलाई खारेज गरीदिए।

हाम्रा संवाददाता भन्छन्, नयाँ नेताको रुपमा मन्सूरको चयनप्रति तालिबान भित्र प्रष्ट विभाजन देखिएको छ।

तालिबानका एकजना प्रवक्ता मुल्लाह अब्दुफ मनान नियाजीले भने, "मुल्लाह मन्सुरको चयन नियमपूर्वक भएको छैन।"

उनले भने, "इस्लामिक नियम र सिद्धान्त अनुसार नेताको मृत्यु भएमा शुरा अर्थात् परषदको भेला बोलाइन्छ र त्यसले मात्रै नयाँ नेता छान्दछ।"

बीबीसी पश्तोका इनायतुलहक यासिनी भन्छन्, मुल्लाह ओमारजस्तो सबैले मान्ने नेता अब तालिबान भित्र पाउनु असंभव जस्तै छ, त्यसैले सो संगठन टुक्रने संभावना देखिन्छ।

तालिबान भित्र विभाजन नआओस् भनेर पाकिस्तानले नै मुल्लाह ओमारको मृत्युको समाचार सार्वजनिक हुन नदिएको पनि कतिपय बताउँछन्।

खण्डन

तर अमेरिकाको निकट सहयोगी पाकिस्तानले तालिबान नेतृत्वलाई आफुले आश्रय दिएको भन्ने आरोपहरुको खण्डन गर्दै आएको छ।

उसले मुल्लाह ओमारको मृत्यु पाकिस्तानको एक अस्पतालमा दुई वर्ष अघि नै भएको थियो भन्ने समाचारहरुबारे पनि कुनै प्रतिकृया जनाएको छैन।

अफगानिस्तानबाट अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सैनिक फर्किएपछि अफगान सरकारले तालिबान नेतृत्वसंग वार्ताको प्रयास गर्दै आएको छ।

तर तालिबानमा औपचारिक विभाजन आएमा अफगान सरकारसंग शुरु गरिएको शान्तिवार्ता पनि धरापमा पर्नसक्ने कतिपयको आशंका छ।