बुरुण्डीमा वरिष्ठ सैनिक अधिकारीको हत्या

  • 2 अगस्ट 2015
तस्वीर कपीराइट
Image caption जर्नेल एनशीमीरीमाना राष्ट्रपति पीएर एनकुरुन्जीजाका निकट साझेदार थिए

बुरुण्डीको राजधानी बुजुम्बुरामा एकजना प्रभावशाली वरिष्ठ सैनिक अधिकारीको हत्या भएको छ।

देशको गुप्तचर निकायका भूतपूर्व प्रमुख समेत रहेको लेफ्टीनेन्ट जेनरल एडोल्फ एनशीमीरीमाना राष्ट्रपति पीएर एनकुरुन्जीजाका निकट सहयोगी थिए।

प्रत्यक्षदर्शीहरुका अनुसार विहान सबेरै राजधानी बुजुम्बुराको उत्तरपूर्वी क्षेत्रमा रहेको सडकको चौबाटोमा जेनरल एडोल्फ एनशीमीरीमाना चढेको कारमा बन्दुकधारीहरुले गोली प्रहार गरेका थिए।

हमलामा उनका एकजना अंगरक्षक पनि मारिएका बताइएको छ।

सुरक्षा

हमला भएको क्षेत्रलाई सुरक्षा सैन्यले घेराबन्दीमा राखेका छन्।

विहानभरी नै त्यस क्षेत्रमा गोली चलेको आवाज सुनिएको थियो।

उनले एकदशक भन्दा बढी समयसम्म बुरुन्डीको गुप्तचर निकायको प्रमुख भएर काम गरेका थिए।

गत नोभेम्बर महिनामा उनलाई गुप्तचर प्रमुखको पदबाट हटाइएको भएता पनि बुरुण्डीमा उनलाई देशका एकजना शक्तिशाली व्यक्तिका रुपमा हेरिन्थ्यो।

आरोप

राष्ट्रपति एनकुरुन्जीजाले विवादास्पद रुपमा आफू तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्न चाहेको घोषणा गरेपछि उत्पन्न विरोध प्रदर्शनहरुलाई दबाउने कारबाहीको नेतृत्व गरेको उनीमाथि आरोप लागेको थियो।

त्यसपछि राष्ट्रपतिविरुद्ध हुन लागेको सैनिक विद्रोहलाई दबाउन पनि प्रमुख भूमिका खेलेको दोष उनलाई दिने गरिन्छ।

अब जेनरल एनशीमीरिमानाका समर्थकहरुले कस्तो प्रतिक्रिया जनाउने हुन् भनी बुरुण्डीका सर्वसाधारण चिन्तित रहेका छन्।