भूकम्प पीडितद्वारा शीघ्र पुनर्निर्माणको माग

  • 2 अगस्ट 2015
त्रिपाल
Image caption राजधानीका विभिन्न स्थानहरुमा अझै पनि करिव ४०० भूकम्प पीडित परिवार त्रिपालमा जीवन गुजारा गर्न बाध्य छन्

नेपालमा विनाशकारी भूकम्प गएको एकसय दिन पुग्दा, लाखौं भूकम्प प्रभावित मानिसहरु अझै पनि अस्थायी आश्रयस्थलहरुमा बसिरहेका छन्।

भूकम्पले भत्काएका संचरनाहरुको भग्नावशेष धेरैजसो पन्छाइसकिएको भएपनि पुन:निर्माण कार्य अपेक्षाकृत रुपमा अघि बढ्न नसकेकोमा सरकारको आलोचना भैरहेको छ।

संयुक्त राष्ट्रसंघका अधिकारीहरुले जेनतेन वर्षा याम सही रहेका भूकम्पपीडीतहरुका निम्ती जाडो महिना शुरु हुनु अगावै अस्थायी आश्रयस्थलहरुको स्तरोन्नती गरिसक्नुपर्ने आवश्यकता रहेको भनी सावधान गराएका छन्।

गत बैशाख १२ र २९ गते गएका विनाशकारी भूकम्पमा परि झण्डै नौ हजार जनाको ज्यान गएको थियो।

आग्रह

विनाशकारी भूकम्पले सबैभन्दा बढी क्षति पुर्याएको काठमाण्डू उत्तरपूर्वको सिन्धुपाल्चोक जिल्लाका भूकम्प पीडितहरुले पुनर्निर्माणका कार्यक्रम तत्काल अघि बढाउन सरकार समक्ष आग्रह गरेका छन्।

सिन्धुपाल्चोकमा भूकम्पपछि ९५ प्रतिशत भवनहरु क्षतिग्रस्त भएको अधिकारीहरु बताउँछन्।

पुनर्निर्माणको कार्यक्रमबारे अन्यौल कायमै रहँदा राजधानी काठमाण्डूका विभिन्न स्थानहरुमा अझै पनि करिव ४०० भूकम्प पीडित परिवारहरु अस्थायी त्रिपालमा जीवन गुजारा गर्न बाध्य छन्।

सिन्धुपाल्चोक साँगाचोककी एक पीडित महिला चम्फादेवी गिरिले बीबीसीसँग भनिन्, “केहि दिन अघि १५ हजार रुपैंयाँ पायौं तर त्यो रकमले हाम्रो बास बन्दैन। यो वर्षामा हामीलाई पानीको डर छ, सर्पको डर छ।”

भूकम्प गएको १०० दिन बितिसक्दा पनि सिन्धुपाल्चोकको चौतारा र वरपर आइतबार दिउँसो भग्नावशेषहरु पन्छाउने काम जारी रहेको देखिन्थ्यो। कैयौ भत्किएका घरका भग्नावशेष भने अलपत्र नै थिए।

वैशाख १२ र २९ गते गएका विनाशकारी भूकम्पमा परि काठमाण्डूदेखि उत्तरतिर रहेको सिन्धुपाल्चोकमा ३५ सय भन्दा बढी मानिसको ज्यान गएको अधिकारीहरुको भनाइ छ।

<span >'प्राधिकरण'

अधिकांश भूकम्प पीडितहरुको निम्ति अस्थायी टहरा वा त्रिपालको व्यवस्था भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी भरत आचार्यले बताए।

उनका अनुसार करिब ५ सय पीडित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

तर पुनर्निर्माणको लागि गठन हुने प्राधिकरण गठन नहुँदा जिल्लामा अन्यौल कायमै रहेको उनले बताए।

“प्राधिकरण गठन भएपछि त्यसै अनुसार जिल्लामा पनि संरचना बन्छ र काम अघि बढ्छ।”

ठूलो भूकम्प आएको सय दिन वितिसक्दा पनि चौतारा बजारको माथिपट्टि रहेको टूँडिखेल सेता त्रिपालहरुले भरिएको छ।

क्षति

जिल्ला अस्पतालको भवन समेत जोखिमयुक्त भएपछि टुँडिखेलबाटै ६० बेडको फिल्ड अस्पताल सञ्चालन भइरहेको छ।

जिल्लाका करिब ६ सय विद्यालय मध्ये ५ सय ५० भन्दा बढीमा क्षति पुगेको बताइन्छ।

सिन्धुपाल्चोक जिल्लाभरका करिब ८० स्वास्थ्य संस्था मध्ये ६५ वटामा क्षति पुगेको थियो, तर मर्मतको काम अझै अघि बढ्न सकेको छैन।

ठूलो भूकम्पको १०० दिनपछि सिन्धुपाल्चोकबासी भन्दैछन्, “हामीले धेरथोर राहत र सहयोग त पायौं, तर घर पुनर्निर्माणको निम्ति ठोस खाका र सहयोगको खाँचो छ।”