ग्रीसको शेयर बजारमा तीव्र गिरावट

  • 3 अगस्ट 2015
तस्वीर कपीराइट epa
Image caption ग्रीस सन् २०१४ सम्म लगातार ६ वर्ष आर्थिक मन्दीको अवस्थामा रहेको थियो

ग्रीसमा पांच हप्तासम्म बन्द रहेर एथेन्सस्थित शेयर बजार कारोबारका निम्ति पुन: खुल्दा पहिलो विहानीको कारोबारमा शेयरहरुको मूल्य तीब्र तथा द्रूत गतिमा खस्किएको छ।

मूख्य सूचकांकमा २० प्रतिशतले भन्दा बढी गिरावट देखिएको छ भने ठूला ग्रीक बैंकहरुको शेयरको मूल्य तीस प्रतिशतले कम भएको छ।

स्थानीय वासिन्दाका निम्ति शेयर कारोबारमा लागू केही प्रतिबन्धहरु कायमै रहेका छन्।

अधिकतम गिरावटको सीमा ३० प्रतिशत तोकिएकोमा देशका चार ठूला ऋणदाता बैंकहरु सबैको शेयर नै त्यो विन्दुमा गिरेको थियो।

गिरावट

एथेन्स स्टक एक्सचेन्जमा पांच भागको एक भाग बैंकहरु छन्।

बिहानीको कारोबारमा देखिएको गिरावटमा दिउंसोतिर केही सुधार देखिएको थियो।

तर त्यो पनि १८ प्रतिशत भन्दा तल नै थियो।

ग्रीक सरकार र युरोपेली केन्द्रीय बैंकले लागू गरेका प्रतिबन्धहरु अनुसार स्थानीय लगानीकर्ताहरुले आफ्नो बैंक खातामा रहेको पैसाको प्रयोग गरेर शेयर खरीद गर्न पाउँदैनन्।

शेयरमा लगानी गर्न चाहनेले सेफ डिपोजिट बक्स वा आफ्नो घरमा रहेको नगद रकमको मात्र प्रयोग गर्न पाउँछन्।

एथेन्सको स्टक एक्सचेन्जमा देखिएको गिरावटलाई अन्य विश्व बजारहरुसंग दांज्ने हो भने सन् १९८७ को अक्टोबर १९ तारिखमा अमेरिकाको डाउ जोन्समा एकदिनमा २२ दशमलव छ एक प्रतिशतले गिरावट आएको थियो।

'कालो सोमबार'

सो दिनलाई अझै पनि कालो सोमबार भन्ने गरिन्छ।

झण्डै २८ वर्षअघि सोही दिन लण्डनको फुट्सी वान हन्ड्रेडमा पनि १० दशमलव आठ चार प्रतिशतले गिरावट आएको थियो।

ग्रीक पूंजी बजार आयोगका प्रमुख कन्सट्यान्टीन बोटोपोउलोसले स्काई रेडियोसंग कुरा गर्दै भने, “आज देखिएको जस्तो दबाब स्वाभाविक रुपमा नै अनुमान गरिएको थियो। पांच हप्तापछि खुलेको सट्टा बजारले सामान्य व्यवहार देखाउन यो हप्ताको अन्त्यसम्म पर्खनै पर्छ।“

ग्रीसले गत महिना आफ्ना ऋणदाताहरुसंग वित्तीय राहत सहायता सम्झौता गरेको भएता पनि उक्त सम्झौतामा भएका शर्तहरुलाई लिएर जारी आन्तरिक राजनीतिक किचलोका कारण प्रधानमन्त्री एलेक्सीस सिप्रासले शिघ्र निर्वाचनको घोषणा गर्न सक्ने सम्भावना कायमै छ।

गत जेनुअरी महिनामा प्रधानमन्त्री सिप्रास नेतृत्वको गठबन्धन सत्तामा आउनु अघि ग्रीसको अर्थतन्त्रले हासिल गरेका उपलब्धिहरु विस्तारै उल्टिन थालेको छ।

देशको अर्थतन्त्रमा दुई देखि चार प्रतिशतको संकुचन देखा पर्ने बताउंदै युरोपेली आयोगले यो वर्ष ग्रीस पुन: आर्थिक मन्दीको अवस्थामा पुग्ने अनुमान गरेको छ।