भेटिएको विमानको टुक्राको अनुसन्धान शुरु

  • 5 अगस्ट 2015
तस्वीर कपीराइट Reuters
Image caption विमानको टुक्रा भेटिएको क्षेत्रमा अर्को कुनै बोइंग सेभेन सेभेन सेभेन दुर्घटना भएको छैन

फ्रान्समा अनुसन्धानकर्ताहरुले हिन्द महासागरस्थित एउटा टापु रेयुनियोंमा गत हप्ता फेला परेको हवाइ जहाजको पखेटाको एउटा टुक्रा हराई रहेको मलेशियाली विमानको हो या होइन भनेर यकीन गर्न परीक्षणहरु थालेका छन्।

रेयुनियों टापुमा फेला परेको विमानको उक्त टुक्रा फ्रान्सको टुलुज शहरको एक सैनिक परिसरमा राखिएको छ।

उड्डयनविज्ञहरुले परीक्षण थालेका विमानको टुक्रालाई फ्ल्यापरोन भनिन्छ, जुन एउटा बोइंग सेभेन सेभेन सेभन विमानको अंश हो।

मलेशिया एयरलाइन्सको हराइरहेको विमान पनि त्यस्तै मार्का र बनोटको हो।

परीक्षण

अनुसन्धानमा सघाउ पुगोस् भनी फ्रान्सले मलेशियाली र अष्ट्रेलियाली उड्डयन विज्ञहरुलाई टुलुसमा आमन्त्रण गरेको हो।

अष्ट्रेलियाका उपप्रधानमन्त्री वारन ट्रसले भने, "अनुसन्धान टोलीले विमानको उक्त टुक्रा हराइरहेको मलेशियाली विमानको हो कि होइन भनेर यसै हप्ता निर्क्योल गर्न सक्नेछन्।"

सन् २०१४ को मार्च महिनामा क्वालालम्पुरबाट बेइजींग तर्फको यात्रामा रहेको मलेशिया एयरलाइन्सको बोइंग विमान २३९ जना यात्रुहरु सहित बेपत्ता भएको थियो र त्यसबारे केही थाहा हुनसकेको छैन।

सो विमान समुद्रमा खसेको हुन सक्ने आशंका गरिएको छ, तर विशाल स्तरको खोजी ‌अभियान संचालन गरिएको भएता पनि उक्त विमानको कुनै पनि अंश फेला पार्न सकिएको ‌थिएन।

अब रेयुनियों टापुमा फेला परेको विमानको पखेटाको टुक्राको परीक्षण आरम्भ भएको छ।

त्यसमा फ्रान्स र मलेशियाका विज्ञहरुका साथै बोइंग विमान कम्पनीका कर्मचारी र चीनका प्रतिनिधिहरु पनि रहने छन्।

अनुसन्धान

बेपत्ता मलेशिया एयरलाइन्सको विमानमा सवार धेरै जसो यात्रु चिनीयांहरु थिए।

हवाइ दुर्घटनाहरु बारे अनुसन्धान गर्ने फ्रान्सको बीइए एजेन्सीका भूतपूर्व प्रमुख जं पोल ट्रोआडेकले एएफपी समाचार एजेन्सीसंग कुरा गर्दै अनुसन्धान मुख्यत: दुईवटा विषयमा केन्द्रीत रहने बताए।

पहिलो, उक्त विमानको टुक्रा बेपत्ता एमएच थ्री सेभेन्टी विमानको हो कि होईन?

दोस्रो, त्यसबाट उक्त विमानको अन्तिम अवस्थाबारे कुनै जानकारी हासिल हुन सक्छ कि सक्दैन भन्ने विषयमा अनुसन्धान हुनेछ।

उनले हाल फेला परेको विमानको टुक्रामा रहेको रंगबाट त्यो बोइंग सेभेन सेभेन सेभेन विमानको भएको पुष्टि भैसकेकोले त्यो समग्र अनुसन्धानको महत्वपूर्ण भाग हुने पनि बताए।

प्रत्येक विमानसेवाले आफ्ना हवाइ जहाजमा निश्चित प्रकारले रंग लगाउने गर्छ।

मलेशिया एअरलाइन्स तथा अन्य कम्पनीले लगाएको रंगको पहिचान हुन सकेमा अनुसन्धानका क्रममा केहि निश्चितता हासिल हुन सक्छ।