विग्रिएका पदयात्रा मार्ग भदौभित्रै बनाइने

  • 7 अगस्ट 2015
तस्वीर कपीराइट AP
Image caption भूकम्प र त्यसअघि हिमाली क्षेत्रमा गएको पहिरोले पर्यटन व्यवसायमा ठूलो असर गरेको छ

सगरमाथा क्षेत्रको मूल पदयात्रा मार्गका ठाउँठाउँमा भूकम्प र त्यसपछि आएका चट्टान सहितका पहिरोले विगारेका भागहरु आगामी पदयात्रा मौसम अगावै बनाइसक्ने पर्यटन विभागका महानिर्देशकले बताएका छन्।

उक्त क्षेत्रलाई भूकम्पले पुर्याएको क्षतिबारे एक अन्तर्राष्ट्रिय संस्थाले गरेको द्रुत मूल्याँकन प्रतिवेदनमा त्यहाँका अधिकांश होटल तथा मार्गमा कुनै समस्या नरहेको जनाइएको छ।

तर पदयात्रा मार्गका चारवटा ठाउँमा पहिरोले क्षति पुर्याएकाले त्यहाँ विद्यमान जोखिम हटाए पदयात्रा गर्न सुरक्षित हुने प्रतिवेदनमा उल्लेख छ।

केही जोखिम

विश्व बैंकको सहयोगमा मियामोतो इन्टरनेशनल नामक अन्तर्राष्ट्रिय संस्थाले गरेको द्रुत मूल्याँकनमा सगरमाथा क्षेत्रको मुख्य पदयात्रा मार्गमा रहेका वस्तीहरुमा रहेका ७०० जति होटेलमध्ये ८० प्रतिशतमा कुनै क्षति नपुगेको र सबै पुलहरु सुरक्षित रहेको पाइएको बताइएको छ।

पदयात्रा मार्ग अधिकांश सुरक्षित नै भए पनि चारवटा ठाउँमा जोखिम देखिएको प्रतिवेदनमा उल्लेख छ।

टोक टोक, बेंगकार, नाम्चेदेखि सनासाको भाग तथा शोमोरेमा पहिरो र चट्टान खसेर बाटो भत्किएको जनाइएको छ।

ती मध्ये केही ठाउँमा मर्मत गर्न वा वैकल्पिक मार्ग पहिल्याउन पर्ने तथा केही ठाउँमा जोखिमबारे पदयात्रीलाई जानकारी दिन संकेत पाटी राखिनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ।

ती सबै सुझाव असोज पश्चात शुरु हुने आगामी पदयात्रा मौसम अगावै कार्यान्वयन गरिसक्ने र त्यसका लागि बजेट व्यवस्था भइसकेको पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले बताए।

“जहाँ जहाँ अलिकतिपनि जोखिम देखिएका छन् ती ठाउँमा संकेत चिन्ह राख्नेदेखि लिएर सबै काम हामी भदौ लाग्नासाथ शुरु गर्छौं,” गौतमले भने।

खुला

हाल त्यति काम गरेर पदयात्रा सुरक्षित गराउन सकिने र भविष्यका लागि बर्खापछि विस्तृत अध्ययन गरिनुपर्ने प्रतिवेदन बनाउने संस्थाका प्रमुख किट मियामोतोले बताए।

उनले भने, “यी सबै कामहरु, जुन छिट्टै सम्पन्न गर्न सम्भव छ, गर्ने हो भने सगरमाथा क्षेत्र व्यापारका लागि खुला छ।”

वैशाख १२ गतेको भूकम्पका कारण उत्पन्न हिमपहिरोमा परी सगरमाथा आधार क्षेत्र वरपर १८ जनाले ज्यान गुमाएका थिए।