मलेसियाली विमानको अंशको खोजी तीव्र

  • 7 अगस्ट 2015
विमानको टुक्रा तस्वीर कपीराइट epa
Image caption भेटिएको टुक्रा बोइङ-७७७ कै भएको पुष्टि भएपनि त्यसको थप जाँचको लागि अंश फ्रान्स लगिएको छ

मलेसियन एअरलाइन्सको उडान एमएच-३७० का थप भग्नावशेष पत्ता लगाउन हिन्द महासागरको फ्रान्स अधिनस्त रेयुनियोँ टापु वरपर विमान, हेलिकोप्टर र डुंगाहरु परिचालन गरी खोजी कार्य अघि बढाइँदैछ।

छिमेकी मरिसस र माडागास्करका सरकारी निकायहरुलाई पनि आफ्ना समुद्रीतटमा खोजी कार्य अघि बढाउन आग्रह गरिसकिएको छ।

मलेसियाले बुधबार रेयुनियोँ टापुको तटमा भेटिएको विमानको पखेटाको टुक्रा हराइरहेको विमानकै भएको पुष्टि गरेको थियो।

त्यसपछि हराइरहेको एमएच-३७० उडानको खोजी कार्यलाई तीव्रता दिन लागिएको हो।

सवार

सन् २०१४ को मार्च ८ तारिखदेखि हराइरहेको सो विमानमा २ सय ३९ मानिस सवार थिए।

अधिकांश यात्रु चिनियाँ नागरिक थिए।

आफन्तहरुले अहिले फेरि आक्रोश पोखिरहेको समाचार प्राप्त भएको छ।

यकिन

क्वालालम्पुरबाट बेइजिङतर्फको उडानमार्गबाट त्यो अचानक मोडिएर हराएपछि त्यो विमानको यकिन अवस्था र त्यसमा रहेका मानिसहरुबारे केही थाहा हुन सकेको छैन।

केही दिनअघि पूर्वी अफ्रिकी तटपारी‍िको हिन्द महासागरीय टापु रेयुनियोँमा भेटिएको विमानको टुक्रा बोइङ-७७७ कै भएको उड्ययनवीदहरुले बताएका छन्।

त्यो टुक्रालाई थप अनुसन्धानको लागि फ्रान्स लगिएको छ।

अब रेयुनियोँ टापु वरपर एमएच ३७० उडानका थप भग्नावशेषको खोजीमा थप विमान हेलिकोप्टर र युद्धपोतहरु समेत परिचालन हुने फ्रेन्च अधिकारीहरुले बताएका छन्।