'सीमाङकनबारे सहमतिको नजिक'

  • 8 अगस्ट 2015
नेपालको नक्शा
Image caption नेपाललाई ६ प्रदेशमा विभाजन गर्नेबारे प्रमुख दलहरुबीच सहमति बन्दै गएको बताइएको छ

सीमाङकन सहितको संघीय प्रदेश भएको संविधान जारी गर्ने भन्दै छलफलमा जुटेका चार दलका शीर्ष नेताहरु ६ प्रदेश सहितको सीमाङकनमा सहमतिको नजिक पुगेको नेताहरुले बताएका छन्।

संविधानको मस्यौदामा जनताबाट आएका सुझावहरुलाई समेत समेटेर जाने भन्दै गएको ११ दिनदेखि प्रमुख दलका नेताहरु छलफलमा जुटेका हुन्।

शनिबार संवाद समितिबाट पारित गरेर आइतबार संविधानसभामा पेश गर्ने बताए पनि शनिबार अबेर सम्म सहमति जुटीसकेको थिएन।

संविधान जारी गर्नका लागि निर्धारण गरिएको मिति नजिकिंदै गर्दा लगातार भएका छलफलमा पनि सहमतिमा पुग्न नसकेका दलहरुले शनिबारको छलफललाई ‘मौका परीक्षा’ भनेका थिए।

सहमति

शनिबार साँझ अबेर सम्मको छलफलमा दलहरु सीमाङकन सहितको संघीयतामा सहमतिको नजिक पुगेको बताइएको छ।

केही महिना पहिले आठ प्रदेश बनाउने भनेर सहमति गरेका चार प्रमुख दलहरुले शनिबार ६ प्रदेशमा सहमति गर्न लागेको छलफलमा सहभागी नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खडकाले बीबीसीलाई बताए।

उनले भने, "सहमतिको नजिक पुगेका छौं। विशेष समितिको बैठक बस्ने तयारी हुँदै छ आजै हस्ताक्षर भएर प्रतिवेदन आजै संवाद समितिमा पेश हुन्छ।"

तर हाल छलफल भएको सीमांकनको खाकामा १६ बुँदे सहमति गर्ने मध्येको एक दल मधेशी जनाधिकार फोरम लोकतान्त्रिकभित्र अझै एकमत भइनसकेको बताइएको छ।

भएको सहमतिमा हस्ताक्षर गर्ने तयारी भैरहदा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसंग उनकै दलका सभासदहरुले असन्तुष्टि पोखेको सो दलका सचेतक योगेन्द्र चौधरीले बताए।

उनले भने, "यस्तो किसिमको प्रस्तावित संघीयतामा तपाईं हस्ताक्षर नगर्नुहोस् भनेर हामीले भन्यौं। उहाँले यसलाई अझै व्यावहारिक बनाउने प्रयासमा लागेको बताउनुभयो।"

सीमाङ्कन

प्रदेशको सीमाङकन आयोग मार्फत र नामाङकन प्रदेश सभाले गर्ने लगायत १६ बुँदे सहमति गरेका दलहरु सर्वोच्च अदालतको अन्तरिम आदेश, तराई केन्द्रित दलहरुको माग र जनताबाट आएका सुझाव पछि सीमाङनको कुरा पनि टुङग्याएरै संविधान जारी गर्ने निर्णयमा पुगेका थिए।

जनताको सुझाव पछि शासकीय स्वरुप, निर्वाचन प्रणाली, नागरिकता, धर्म सम्बन्धी व्यवस्थाबारे उठेका विषयहरुमा पनि सहमति नजिक पुगिएको बताइएको छ।

शनिबार नै प्रतिवेदन आउने भन्दै पटक पटक समय सारिएको संविधानसभाको बैठक अब आइतबारका लागि डाकिएको छ।