काबुलका विभिन्न ठाउँमा हमला

  • 8 अगस्ट 2015
तस्वीर कपीराइट AP
Image caption काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको नेटो सैनिक अखडामा पनि आक्रमण भएको थियो

अफगानिस्तानको राजधानी काबुलमा गत २४ घण्टाभित्र गराइएका छुट्टा-छुट्टै बम आक्रमणमा कम्तीमा ४० जनाको ज्यान गएको छ।

आक्रमणमा एक सय जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन्।

शुक्रबार साँझ प्रहरी प्रतिष्ठान नजिकै एकजना आत्मघाती बम हमलाकारीले विष्फोट गराउँदा प्रशिक्षणका क्रममा रहेका २५ जनाको ज्यान गएको थियो।

अधिकारीहरुका अनुसार प्रहरी पोशाकमा रहेका आक्रमणकारीले प्रतिष्ठानको प्रवेशद्वारमा विष्फोट गराएका थिए।

गम्भीर घटना

दुई दिने सप्ताहन्तपछि प्रतिष्ठानमा प्रवेश गर्न लाइनमा उभिरहेका प्रशिक्षार्थी प्रहरीहरुसँगै आक्रमणकारी पनि उभिएका थिए।

एकजना स्थानीय बासिन्दाले भने, “ठूलो विष्फोट थियो, सबै प्रशिक्षार्थी सुरक्षाकर्मी थिए, उनीहरु प्रतिष्ठानकै विद्यार्थी थिए।”

पर्यवेक्षकहरुले कडा सुरक्षा व्यवस्था रहेको राजधानीस्थित प्रहरी प्रतिष्ठानमै गराइएको आक्रमणलाई गम्भीर घटनाको रुपमा चित्रण गरेका छन्।

काबुलस्थित बीबीसी संवाददाता फिलिप पाल्मर भन्छन्, “त्यसको करिब दुइ घण्टापछि शहरका धेरै स्थानमा विष्फोटको आवाज सुनिएको थियो, एउटा बस बिसौनीमा भएको गोली हानाहानपछि पनि विष्फोटको आवाज सुनिएको थियो।”

हात

शुक्रबार विहानै विष्फोटक पदार्थले भरिएको एउटा ट्रक शाह शाहिद क्षेत्रस्थित सैनिक अखडा नजिकै विष्फोट गराइँदा १५ जनाको ज्यान गएको थियो।

घटनामा दुई जना आक्रमणकारीहरु पनि मारिएको अधिकारीहरुले बताएका छन्।

अफगान राष्ट्रपति अशरफ गनीले आफूभित्रको नेतृत्वसम्बन्धी विवादबाट मानिसहरुको ध्यान अन्यत्र मोड्न तालिबानले आक्रमण गराएको बताएका छन्।

तालिबान प्रमुख मुल्लाह ओमारको मृत्यु भएको समाचार गत साता सार्वजनिक भएपछि उक्त संगठनमा नेतृत्वसम्बन्धी विवाद उत्पन्न भएको छ।

तर प्रहरी प्रतिष्ठान नजिक गराइएको विष्फोटमा मात्र आफ्नो संलग्नता रहेको तालेवान समूहले जनाएको छ।