जापानमा नागासाकी आणविक बम विष्फोट संझना

  • 9 अगस्ट 2015
तस्वीर कपीराइट Reuters
Image caption अब कतै नागासाकी र हिरोशिमामा बम विष्फोट हुन नदिने अठोट राष्ट्र संघका महासचिवले गरेका छन्

जापानले नागासाकीमा अमेरिकाले आणविक बम प्रहार गरेको सत्तरीऔं वार्षिकी मनाएको छ।

संझना सभा आयोजना गरिएको नागासाकी शान्ति बाटिकामा एक मिनेट मौन धारण गरियो।

नागासाकीका मेयर र प्रधानमन्त्री शिन्जो आबेले संबोधन गरे।

बमले ध्वस्त बनाएपछि पुन निर्माण गरिएको मुख्य गिरजाघरमा प्रार्थना गरिएको थियो।

आक्रमण

आक्रमणमा कम्तिमा ७० हजार मानिस मारिएका थिए।

तस्वीर कपीराइट REUTERS
Image caption नागासाकीमा आणविक बम आक्रमण हुँदा कम्तिमा सत्तरी हजारको ज्यान गएको थियो

हिरोशिमामा आणविक बम आक्रमण भएको तेश्रोदिन नागासाकीमा त्यस्तै आक्रमण भएको थियो।

कोकुरा माथि बादल छाएका कारण नागासाकी छानिएको थियो।

शहरको सबै जसो भाग आक्रमणमा ध्वस्त भएको थियो।

आइतबारको गंभीर संझना कार्यक्रममा ७५ देशका पाहुनाहरु सम्मिलित थिए र बालबालिकाले एउटा घोषणापत्र पढेका थिए।

एक मिनेटको मौन धारण गरियो र विष्फोटको समय ११ बजेर दुइ मिनेट जाँदा घन्टी बजाइयो।

नागासाकीका मेयर टोमिहिसा ट्वेले समारोहमा शान्ति घोषणा प्रस्तुत गरे।

प्रतिबद्धता

जापानी प्रधानमन्त्री आबेले भने जापान आणविक हतियार बिनाको विश्व बनाउन प्रतिबद्ध छ।

पढेर सुनाइएको संयुक्त राष्ट्र संघीय महासचिव बान कि मुनको सन्देशमा भनियो- "नागासाकी अन्तिम हुनुपर्छ। भविष्यमा हामी आणविक हतियार प्रयोग गर्न अनुमति दिन सक्दैनौं। मानवीय परिणाम असाध्यै ठूलो छ। अब नागासाकी हुनेछैन। हिरोशिमा हुने छैन।"

नागासाकी शान्ति बाटिकामा आयोजित समारोहमा परेवाहरु उडाइयो।

शनिबार साँझ उराकामी गिरजाघरमा आकाशमा बम विष्फोट हुँदा देखिने दृष्यको कम्प्युटर ग्राफिक भिडियो प्रदर्शन गरिएको थियो।

बहस

बमले त्रासदीपूर्ण रुपमा तत्काल मान्छे मारेको थियो । त्यसपछि रेडियोविकिरण ग्रस्त मानिसहरु क्रमश मरेका थिए।

केहि दिनपछि जापानले आत्मसमर्पण गरेपछि दोश्रो विश्वयुद्ध समाप्त भएको थियो।

यद्यपी दुइ बम आक्रमणको आवश्यकताबारे त्यसबेलादेखि बहस हुँदै आएको छ।

तस्वीर कपीराइट AFP
Image caption आणविक बम विष्फोट हुँदा जमिनको केहि माथि हावामा देखिएको च्याउ आकारको दृष्य

"घमाइलो र स्पष्ट दिन थियो। अचानक अन्धो बनाइदिने किसिमको प्रकाश चम्क्यो।" नागासाकीमा बचेका टोरु माइनले भने। उनी अहिले नागासाकी घटनाबारे समर्पित संग्रहालय भ्रमण गर्नेहरुलाई गाइडको काम गर्छन्।

दुर्घटनामा बाच्न सफल अर्का ८६ वर्षीय सुमिटेरु टानीगुचीका पिठ्युँमा अझ पनि दागहरु छन्।

उनले भने-“मेरा वरिपरिका मानिस मरिरहेका थिए म बाँचेँ। मानिसहरु भन्छन् म बाँचे तर म सोच्छु मलाई जिउँदो राखिएको हो। म अहिले पनि दुख पाइरहेको छु।”

टोक्योस्थित बीबीसीका रुपर्ट विङफिल्ड हेजले भने नागासाकी र हिरोशिमामा आणविक निशस्त्रीकरणबारे वास्तविक लगाव बढेको छ।