मृगौला: पैसा र जीवनको कथा

  • 11 अगस्ट 2015

मार्टिन पेसेन्स, बीबीसी न्यूज

Image caption ५१ वर्षीया लिआन रोङगुवा आफ्ना दुइजना छोराहरुलाई आफूले मात्र बचाउन नसक्ने बताउँछिन

कल्पनै गर्न नसकिने यस्तो निर्णय सायदै कुनै आमाले अहिलेसम्म गर्नुपरेको होलाः आफ्ना छोराहरुमध्ये कसलाई मर्न दिने वा कसलाई बाँच्न दिने?

यस्तो निर्णय ५१ वर्षीया लिआन रोङगुवाले यसै वर्षको शुरुतिर गर्नुपरेको थियो।

उनका दुइजनै छोराहरु युरेमिआबाट ग्रस्त थिए, यो यस्तो अवस्था हो, जसले मृगौलालाई काम गर्न नसक्ने स्थितिमा पुर्याउँछ।

तर उनीहरुमध्ये एकजनाले मात्र आफ्नी आमाको मृगौला पाउन सक्थे।

उनीहरुका बुवा उच्च रक्तचापको समस्याबाट पीडित छन् र उनले मृगौला दान गर्न सक्दैनन्।

संघर्ष

भाडामा लिइएको सानो अपार्टमेन्टमा लिआन त्यस समयको बारेमा कुरा गर्नका निम्ति संघर्ष गर्दैछिन्।

आँखाबाट आँसु झार्दै मसँग उनले भनिन्, “मलाई थाहा छैन कि मेरा दुवै छोराहरु किन बिरामी छन्?”

आखिरमा उनको निम्ति निर्णय लिइयो।

उनका २६ वर्षीय जेठा छोरा ली हाइचीङ्गले आफ्ना २४ वर्षीय भाइ हाइसोङ्गले आमाको मृगौला पाउनुपर्ने निर्णय गरे।

“भाइ सानो भएकोले र निको हुने संभावना पनि रहेकोले मैले उसैलाई मृगौला दिनुपर्ने निर्णय गरेँ,” हाइचीङ्गले भने।

बिरामी भएका कारण हाइचीङ्ग चिकित्सा अध्ययन छोड्न बाध्य भए।

उनले थपे, “निश्चितरुपमा म आशा गर्छु कि धेरै ढिलो हुनुअघि मैले मृगौला पाउनेछु तर यदि पाइनँ भने डायलाइसिस गराइरहनुपर्छ।”

तर उनले मृगौला प्रत्यारोपण गराउन पाउने संभावना न्यून छ।

चीनमा प्रत्यारोपणका लागि मानव अंगको ठूलो अभाव छ।

त्यस्तो माग धान्नका निम्ति कयौं वर्षसम्म चीनले मृत्युदण्ड दिइएका कैदीहरुको अंगको प्रयोग गर्यो।

अंगदान

Image caption ली हाइचीङ्गलाई कुनै दिन आफूले कसैबाट मृगौला पाउने आशा अझै छ

अन्तर्राष्ट्रियस्तरमा निन्दा भएपछि यसै वर्षको शुरुतिर त्यस्तो अभ्यास बन्द गरेको बेइजिङ्गले बताएको थियो।

यद्यपि त्यस्तो बन्देज लागू भए वा नभएको सुनिश्चित गर्न कठिन भएको अधिकारीहरु स्वीकार्छन्।

सरकार भन्छ- अब मानिसहरुले गर्ने दानमा मात्र भर पर्नेछौँ।

सरकारले राष्ट्रिय अंग बैंक स्थापना गरेको छ, जसले सिद्धान्तः एकदमै खाँचो परेकालाई र उपयुक्त हुनेलाई अंग उपलब्ध गराउने ठानिएको छ।

तर आलोचकहरु भन्छन्- उक्त प्रणाली दुरुपयोगको निम्ति खुला छ र पहुँचवालाहरुले पालो मिची प्रत्यारोपणका निम्ति अंग पाउन सक्छन्।

सायद सरकारले जुझ्नु परेको सबैभन्दा ठूलो समस्या चाहिँ मानिसहरुलाई अंगदानका निम्ति मनाउनु हो।

शरीर पवित्र भएकोले आफ्ना मृत पूर्खाहरुप्रति सम्मान दर्शाउनका निम्ति त्यसलाई जस्ताको त्यस्तै गाड्नुपर्ने धेरै चिनियाँहरुको विश्वास रहिआएको छ।

यसैकारणले हुनसक्छ चीनमा विश्वकै सबैभन्दा कम अंगदान दर प्रत्येक १० लाखमा शुन्य दशमलव ६ रहेको छ जबकि स्पेनमा उक्त दर ३७ रहेको छ।

‘मेरो मृगौला थिएन’

सरकार भन्छ- यो वर्ष १२ हजार अंग प्रत्यारोपण गरिनेछ।

यो कैदीहरुबाट प्रत्यारोपण गर्ने बेलाको भन्दा बढी हो।

तर अनुमानित ३ लाख मानिसहरुलाई प्रत्यारोपणका निम्ति अंग आवश्यक छ।

उच्च मागले कालोबजारी बढाएको छ।

हामीले परिचय गोप्य राख्ने भएपछि मृगौला बेचेका एकजना मानिस हप्तौंपछिको अनुसन्धानपछि हामीसँग कुरा गर्न सहमत भए।

टी शर्ट माथि सार्दै उनले मलाई शल्यक्रिया गरिएको खत देखाए, जहाँबाट उनको अंग निकालिएको थियो।

२१ वर्षीय ती व्यक्तिले जुवा खेल्नका निम्ति लिएको ऋण तिर्न आफ्नो मृगौला सात हजार डलरमा विक्री गरेका रहेछन्।

अनलाइनमार्फत विक्री गर्ने चाँजोपाँजो मिलाइसकेपछि उनले तस्करहरुद्वारा सञ्लाचित अँध्यारो र गोप्य संसारको वर्णन गरे।

असाधारण घटना

उनले मलाई भने, “सबैभन्दा पहिले मलाई एउटा अस्पतालमा लगियो, जहाँ उनीहरुले मेरो रगतको नमुना लिए र जाँचहरु गरे, त्यसपछि तस्करहरुले मेरो मृगौला उपयुक्त हुने मान्छे फेला नपारुञ्जेल म एउटा होटलमा हप्तौंसम्म बसेँ।”

उनले थपे, “त्यसपछि एकदिन मलाई लिन एउटा कार आइपुग्यो र चालकले मेरो आँखामा पट्टि बाँध्न भने। खाल्टाखुल्टी परेको सडकमा हामीले कारबाट करिब आधा घण्टा लामो यात्रा गर्यौं।”

तस्वीर कपीराइट AFP
Image caption कयौं वर्षसम्म चीनले मृत्युदण्ड दिइएका कैदीहरुको अंगको प्रयोग गर्यो

“जब मैले आँखाबाट पट्टि खोले मैले महसुस गरेँ कि म एउटा फार्महाउसमा आइपुगेछु, त्यहाँ शल्यक्रिया गर्ने एउटा पूर्ण कक्ष थियो, चिकित्सक र नर्सहरु पोशाकमा थिए।”

“मेरो मृगौला लिने महिला आफ्नो परिवारसहित थिइन्, हामी एकअर्कासँग बोलेनौं।”

“म डराएको थिएँ तर डाक्टरले मलाई सुत्न लगाए।”

“उठ्दा म अर्कै फार्महाउमा थिएँ मेरो मृगौला थिएन।”

“किन्नेलाई जिन्दगी चाहिएको थियो र मलाई पैसा।”

यो असाधारण घटना हो, जसको हामीले स्वतन्त्र पुष्टि गर्न सक्दैनौँ।

तर त्यसले यो आकर्षक अवैध व्यापारमाथिको पर्दा उघारिदिएको छ, जहाँ तस्करले कुराहरु लुकाउन सैनिकले जस्तो नीति अवलम्बन गर्छन्।

निराश

ली हाइचीङ्ग पनि त्यस्ता मानिसहरुमध्ये एक हुन, जसले अवैध रुपमा अंग खरिद गर्न सक्दैनन्।

उनका भाइले आफ्नी आमाको मृगौला पाए।

प्रत्यारोपणलाई लिएर उनी निराश छन् तर भन्छन्- कानुनी रुपमा पाउने मृगौला मात्र लिनेछु।

जिन्दगी बचाउने शल्यक्रियाको प्रतीक्षामा रहेका उनी डायलाइसिसका निम्ति हप्तामा तीन पटक अस्पताल जानुपर्छ।

उनको जिन्दगी निष्क्रिय बन्न पुगेको छ।

उनी कुनै दिन एउटा सफल व्यवसाय गर्न सक्ने आशा व्यक्त गर्छन् तर त्यो सपना सायद कहिल्यै पूरा नहुन सक्छ।

यहाँका अरु धेरै मानिसहरु जस्तै उनलाई पनि डर छ- मृगौला प्रत्यारोपण गराउनुअघि नै कतै मरिहाल्ने त होईन।