चीनको मुद्रा लगातार दोस्रो दिन अवमूल्यन

  • 12 अगस्ट 2015
तस्वीर कपीराइट AFP
Image caption चीनले लामो समयदेखि आफ्नो मुद्रामाथि कडा नियन्त्रण कायम राखेको छ

आफ्नो मुद्रा युआनलाई थप कमजोर हुन दिने गरी पिपल्स बैंक अफ चाइनाले बुधबार गरेको निर्णयपश्चात युरोपेली तथा एसियाली शेयर बजारहरुमा प्रभाव परेको छ।

अमेरिकामा पनि त्यसले चिन्ता बढाएको छ।

चिनियाँ केन्द्रिय बैंकले युआनको दरलाई मंगलबार कीर्तिमानी स्तरको १ दशमलब ९ प्रतिशतले कटौती गरेको थियो।

त्यसले एसियाली बजारभर तरंग फैलियो। तर बैंकले ती चिन्ताहरुलाई सम्बोधन गर्ने कोशिश गर्दै यो निरन्तर अवमूल्यनको शुरुवात नभएको जनाए।

किर्तिमान

तर बुधबार युआन पुन: एक प्रतिशतले गि-यो। दुई दशक यता डलरको तुलनामा युआनको मूल्य दुई दिनभित्र सबैभन्दा धेरै घटेको अहिले नै हो।

यी नयाँ कदमहरु निकासी बढाउनेतर्फ केन्द्रित छन्।

सप्ताहान्तमा सार्वजनिक गरिएका आँकडाहरुले जुलाई महिनामा चीनको निकासी ८ प्रतिशतले गिरेको देखाएको थियो।

जसले विश्वको दोस्रो ठूलो अर्थतन्त्र कतै सेलाउन त लागेको होइन भन्ने चिन्ता बढाएको थियो।

बुधबार सार्वजनिक गरिएका अर्थतन्त्रका अन्य सूचक समेत अपेक्षा अनुसार नभएको देखियो।

डर

तर युआनको दर घटाएर चीनले विश्वव्यापी र अस्थिरता उत्पन्न हुन सक्ने मुद्रा युद्ध निम्त्याएको डर उब्जिएको छ।

अमेरिकामा यसबारे तीखा आलोचना भएका छन्। त्यहाँ गएराती बजारहरुमा यसको असर परेको थियो।

अमेरिकाले विगतदेखिनै चीनले अस्वाभाविक रुपमा अवमूल्यन गरिएको युआनका कारण विदेशी प्रतिस्पर्धीका तुलनामा चीनका निकासीकर्तालाई पक्षपातपूर्ण ढंगबाट फाइदा पुराएको भन्दै विरोध गर्दै आएको थियो।