सिरियामा सुरक्षित क्षेत्र घोषणाका निम्ति पहल

  • 12 अगस्ट 2015
तस्वीर कपीराइट AP
Image caption अहमेत दावुतव्लुले सिरियाली द्वन्द्वका कारण विस्थापितहरुका लागि अमेरिकासँग सहकार्य गर्ने बताए

टर्कीका प्रधानमन्त्री अहमेत दावुतव्लुले इस्लामिक स्टेट लडाकु र सिरियाली फौजका कारण भागिरहेका मानिसहरुको सुरक्षाका निम्ति उत्तरी सिरियामा सुरक्षित क्षेत्र घोषणा गराउन आफ्नो मुलुकले पुनः दबाब दिने बताएका छन्।

बीबीसीसँग कुरा गर्दै उनले सिरियाली द्वन्द्वका कारण विस्थापित मानिसहरुका लागि अमेरिकासँग मिलेर काम गर्ने बताए।

उनले उत्तरी क्षेत्रको सुरक्षाका निम्ति सेना पठाउने संभावनालाई अस्वीकार गरेनन्।

संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार टर्कीमा सबैभन्दा बढी १८ लाख सिरियाली शरणार्थीहरु छन्।

समाधान

बीबीसीका जेरेमी बोवेनसँग कुरा गर्दै दावुतव्लुले सिरियामा विगत चार वर्षदेखि जारी द्वन्द्व समाधानका निम्ति थप काम गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे।

उनले तथाकथित इस्लामिक स्टेट र अतिवादी समूहहरुलाई सघाएको आरोप चाहिँ अस्वीकार गरे।

दावुतव्लुले सिरियामा जारी नरसंहार रोक्नका लागि राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रहरुले ‘सशक्त निर्णय’ लिन नसकेको भन्दै आलोचना गरे।

तस्वीर कपीराइट EPA
Image caption टर्कीमा १८ लाख सिरियाली शरणार्थीहरु रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ

टर्की भएर युरोप जान खोज्ने आप्रवासीहरुलाई रोक्न टर्कीले पर्याप्त कदम चालेको छ त भनी जिज्ञासामा उनले भने, “आप्रवासीहरुलाई रोक्नका निम्ति चार वर्षदेखि जारी सिरियाली द्वन्द्वको अन्त्य खोज्ने जिम्मेवारी अन्तर्राष्ट्रिय समुदायको हो।”

मध्यमार्गी

स्थलमा सिरियाली सेनाको प्रयोगको संभावनालाई स्वीकार्दै उनले सिरियाका मध्यमार्गी विपक्षीहरुलाई सशक्त बनाउनुपर्नेमा आफ्नो जोड रहेको बताए।

उनले थपे, “यदि सिरियाभित्रकै मध्यमार्गी शक्तिसँग पर्याप्त बल हुने हो भने टर्की लगायतका अन्य मुलुकहरुले त्यहाँ फौज पठाउन आवश्यक पर्नेछैन।”

विपक्षीहरु आइएस जिहादीहरुसँगको द्वन्द्वलाई टर्किश सरकारले कुर्दिश पृथकतावादी समूह पीकेकेविरुद्ध प्रयोग गरिरहेको आरोप लगाउने गर्छन्।

तर प्रधानमन्त्रीले उक्त आरोप अस्वीकार गर्दै आएका छन्।